बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बाग्लुङको डोय पहाड ‘ब्लु हिल’मा धार्मिक–पर्यटकीय पुर्वाधार निर्माण तीव्र

बाग्लुङको डोय पहाड ‘ब्लु हिल’मा धार्मिक–पर्यटकीय पुर्वाधार निर्माण तीव्र

26
Shares
26
Shares

काठमाडौँ । बाग्लुङ नगरपालिकाको गौरवको आयोजना ‘ब्लु हिल’ परियोजना बागलुङ–९ स्थित डोय पहाडमा तीव्र गतिमा निर्माण भइरहेको छ । नगरपालिकाले आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने लक्ष्यसहित काम अघि बढाएको छ ।

गत वर्षदेखि सुरु भएको ब्ल हिल परियोजना अन्तर्गत नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । डोय पहाडको आँखैअगाडि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको मनमोहक दृश्यले यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन प्रेरित गरेको हो ।

बागलुङ–९ का वडाध्यक्ष राजु थापाका अनुसार, अहिले ब्लु हिलमा २० फिटको शिवमुर्ति स्थापना गर्न आवश्यक दुई तला पक्की भवन निर्माण भइरहेको छ ।

‘नगरपालिकाको ठुलो लगानीमा पुर्वाधार निर्माण भइरहेको छ । पहाडमाथि शिवमूर्ति निर्माण गरेर धार्मिक र प्रकृति प्रेमी पर्यटक भित्र्याउने हाम्रो उद्देश्य हो,’ उनले बताए।

ब्लु हिल परियोजना अनुसार २५ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । यसमा वनभोज स्थल, ध्यान केन्द्र, दृश्य अवलोकन स्थल, जिमहल, मन्दिर, पार्किङ लगायतका अतिरिक्त पुर्वाधार निर्माण गर्ने योजना समावेश छ ।

नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार डोय प्राकृतिक रूपमा सुन्दर भएकाले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने बताए ।

उनले भने, ‘डोय प्राकृतिक रूपमा सुन्दर र हरियालीले भरिपूर्ण छ । यहाँ आँखैअगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर निर्माण भइरहेको पक्की संरचनाले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ ।’

विस्तृत परियोजना प्रतिवेदन अनुसार ब्लु हिलको पूर्ण विकासमा अझ केही समय लाग्ने छ । परियोजना सम्पन्न भएपछि ब्लु हिल धार्मिक र पर्यटकीय दुवै दृष्टिले बागलुङको महत्वपूर्ण गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

समुन्द्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा रहेको डोय पहाडको प्राकृतिक सौन्दर्य र निर्माणाधीन पुर्वाधारले यस क्षेत्रलाई पर्यटकहरूका लागि आकर्षक गन्तव्य बनाउनेछ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend