मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

जोगिन्दरको नेताहरूलाई झटारो ‘मिसन नौटङ्की’

जोगिन्दरको नेताहरूलाई झटारो ‘मिसन नौटङ्की’

56
Shares
56
Shares

काठमाडौँ । लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ले हरेक वर्षको ‘गाइजात्रा’लाई लक्षित गर्दै हास्यब्यङ्ग्य सामाग्री बजारमा ल्याउने गर्छन् । यस्तैमा यो वर्ष पनि उनले नेताहरूलाई ब्याङ्ग्यको झटारो प्रहार गर्दै गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटङ्की’ ल्याएका छन् ।

‘मिसन नौटङ्की’मा उनले देशमा सबैको चासो र चिन्ताको विषय भ्रष्टाचार र नेताहरूको गलत क्रियाकलाप उठाएका छन् । उनले पछिल्लो समय जुनै दलको नेताहरूले भन्ने गरेको ‘मिस चौरासी’का विषयलाई समेत नौटंकीको रूपमा संख्या दिँदै तिखो ब्याङ्ग्य गरेका छन् । ‘मिसन नौटङ्की’ ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

नेताहरूको क्रियाकलाप र समाजका विकृति बिसंगतीमाथि ब्याङ्ग्य गर्दै दर्शक तथा श्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले ‘मिसन नौटङ्की’ सार्वजनिक गरेको कलाकार रिजालले बताए ।

हरेक वर्ष जस्तै यो पटक पनि उनले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी समेटेका छन् । यस पटक उनले हिट फिल्म ‘जाजै जात्रा’को गीत ‘लाइदेऊ माया पिरिम’मा प्यारोडी बनाएका छन् । जसमा रवि लामिछानेको जेल, नेताहरूको क्रियाकलाप, भष्टचार, लुटपाट लगाएको विषय उठाएका छन् ।

बिसं २०६१ देखि नियमित ‘जाइजात्रे’ कोसेली ल्याउँदै आएका रिजालको ‘मिसन नौटङ्की’ २२ औँ कोसेली हो । गत वर्ष उनले ‘लुछाचुँडी’ ल्याएका थिए ।

‘मिसन नौटङ्की’मा रिजालको अलवा राधिका हमाल, प्रेम शर्मा पौडेल, सबित्रा लामिछाने ‘सबु’, धिरेन्द्र सिंह, किरण खनाल, बेदमणी अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना बिक, भीम परियार, र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । ‘मिसन नौटङ्की’ लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैले गरेका हुन् ।

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको रिजालले बताए । ‘सधैँ झैँ यो वर्ष पनि दर्शक श्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने । रिजाल अहिले राष्ट्रिय नाचघरले आयोजना गर्ने गाईजात्रे कार्यक्रम तयारीमा जुटेका छन् ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend