काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारहरूको आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी सबै तयारी पूरा भएको जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा तडकभडक नगरी शान्त, मर्यादित र व्यवस्थित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । भीडभाड कम गरी प्रक्रिया सहज बनाउन प्रमुख दल तथा उम्मेदवारका लागि दर्ताको समयसमेत निर्धारण गरिएको आयोगले जनाएको छ ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ ।
निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु भइसकेको छ भने अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन–स्रोत उपलब्ध गराएको जनाएको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् । नेपाली कांग्रेसले केही क्षेत्रमा छनोट प्रक्रिया जारी रहेको बताएको छ भने एमालेले सबै क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ । एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।
उम्मेदवारी दर्ताका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्नेछ । साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण तथा अन्य आवश्यक कागजात पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगले सबै तयारी पूरा भएको उल्लेख गर्दै आज उत्साहपूर्ण वातावरणमा देशभर उम्मेदवार मनोनयन हुने विश्वास व्यक्त गरेको छ । गत भदौको आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचन हुन लागेको हो ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend