बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता

22
Shares
22
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यको पद पुर्ति गरिनेछ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिनेछ।

आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो भने मंगलबार मतदाता नामावलीमाथि कुनै दाबी–विरोध परे नपरेको यकिन गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ।

निर्वाचन तालिकाअनुसार पुस २४ गते उम्मेदवारको मनोनयनमाथि उजुरी दिने समय तोकिएको छ। यस्तै, पुस २७ गते उम्मेदवारले चाहेमा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।
आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पदावधि समाप्त हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभाको संरचना निरन्तर कायम राख्न समयमै निर्वाचन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend