काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पत्रकार रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ९ बुँदे कडा खुला पत्र सार्वजनिक गरेका छन् । डा. कोइरालाले पछिल्लो समय देशको अवस्था, राष्ट्रियता र लोकतन्त्रबारे व्यक्त गरेका चिन्ताजनक अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै मिश्रले उनको राजनीतिक भुमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
मिश्रले पत्रको सुरुवातमै डा. कोइरालाकै भनाइ उद्धृत गर्दै देशलाई अभिभावकको खाँचो परेको, राष्ट्रियता नाजुक अवस्थामा रहेको र लोकतन्त्र ‘छाडा तन्त्र’ जस्तै बनेको अवस्थाको स्मरण गराएका छन् । यति गम्भीर अवस्था देख्दा पनि ‘गर्न सक्ने ठाउँमा’ रहेका नेताहरू किन निष्क्रिय देखिन्छन् भन्ने प्रश्न उनले उठाएका छन् ।
खुला पत्रमा मिश्रले डा. कोइरालामाथि आत्मकेन्द्रित राजनीतिमा फसेको आरोप लगाएका छन् । काँग्रेस सभापति वा प्रधानमन्त्री बन्ने चिन्तामा देशलाई प्राथमिकतामा नराखिएको भन्दै उनले यसले आफुले राख्दै आएको सम्मानमा समेत आघात पुगेको उल्लेख गरेका छन् ।
मिश्रले बिपी कोइरालाको सच्चा अनुयायी भए देशलाई विचार र पदभन्दा माथि राख्नुपर्ने तर्क गर्दै डा. कोइरालालाई स्पष्ट राजनीतिक बाटो रोज्न आग्रह गरेका छन् । चुनावी समीकरण र अवसरको पर्खाइमा ‘आकाशको फल’ हेरेर बस्नु राजनेताको शैली नभएको उनको टिप्पणी छ ।
पत्रमा उनले डा. कोइरालालाई खुला पत्रकार सम्मेलन गरेर देश र काँग्रेसलाई ‘वीपीपथ’ मा लैजानुपर्ने स्पष्ट धारणा सार्वजनिक गर्न चुनौती दिएका छन्। साथै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक फेर समातेर हिँड्नु नेतृत्वहीनताको संकेत भएको उनको भनाइ छ।
छिमेकी राष्ट्र र भूराजनीतिक दबाबको डरले निर्णय गर्न नसक्ने प्रवृत्तिप्रति पनि मिश्रले आलोचना गरेका छन्। उनले भविष्यमा परिस्थिति बदलिँदा डा. कोइरालाले मार्ग परिवर्तन गर्न सक्ने संकेत गर्दै अहिले नै स्पष्ट अडान लिन आग्रह गरेका छन्।
मिश्रका अनुसार, यस्तो ‘ल्याङ्ग्रे’ शैलीले प्रधानमन्त्री भए पनि सम्पूर्ण नेपालको नभई कुनै खास राजनीतिक धारको मात्र प्रतिनिधि बन्ने खतरा हुन्छ। देश संकटमा परेको बेला कोइराला वंश र बिपीको आस्था बोकेको नेताको अवस्था देख्दा आफू दुःखी भएको उनले लेखेका छन्।
खुला पत्रको अन्त्यतिर मिश्रले देश नयाँ समझदारीतर्फ जानु अपरिहार्य भएको दाबी गर्दै त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताएका छन्। अन्ततः डा. कोइरालालाई ‘प्रचण्डवादी’ वा ‘बिपीवादी’ मध्ये एक स्पष्ट पहिचान रोज्न आग्रह गर्दै उनले दोधारे राजनीति नसुहाउने चेतावनी दिएका छन्।
पत्रको समापनमा मिश्रले यस्तो अनिर्णयवादी शैलीबाट संसारमा कोही पनि सच्चा राजनेता नबनेको उल्लेख गर्दै निर्णयको जिम्मा डा. कोइरालामै छोडेका छन् ।


© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend