बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

59
Shares
59
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरू बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए । जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ ।

उनले भने, ‘जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैँन् । सिंहदरबार बदल्न बाँकी छ र त्यो क्रान्तिबाट मात्र सम्भव छ । हामीलाई विश्वास छ, हाम्रो नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरू बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने छ । अर्थात् जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्नेछौँ ।’

यस्तै, उनले यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर गएका साथीहरूलाई शुभकामना व्यक्त गर्दै उनीहरूले धेरै गुण लगाएर गएको बताए । उनले भने, ‘यात्राका क्रममा हामीले सबैलाई समेट्न सकेनौ होला । तर उहाँहरूले हाम्रो पार्टीमा दिनु भएको योगदानको सधैँ स्मरण गरिरहने छु । उहाँहरूलाई धन्यवाद दिइरहनेछु । हामीले धेरै केही गर्न सकेनौ तर उहाँहरूले धेरै गरेर जानुभएको छ । सिकाएर जानुभएको छ । हामीलाई धेरै उपलब्धिहरूमा साथ दिनुभएको छ । केही गर्न नसके पनि उहाँहरूले दिनु भएको योगदान त हाम्रो मनमा छ । यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर जानु भएकाहरूलाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु । धेरै गुण लगाएर जानु भएको छ, ऋणी रहनेछु ।’ उनले आफूसँग एक मुठ्ठी सास र सत्यको साहस मात्रै बाँकी रहेको भन्दै सत्यको सधैँ विजय हुने बताए ।

उनले भने, ‘म माथि अन्यायका श्रीखंलाहरु बाँकी नै छन् । तर मलाई विश्वास छ, आजसम्म सत्य हारेको छैन । त्यस कारण अब पनि हार्दैन भन्ने कुरामा विश्वास छ । त्यो विश्वासले जिल्लैपिछे मुद्दा लगाउँदा पनि छाडेको छैन, कारागारमा लैजाँदा पनि छाडेको छैन । यही एउटा विश्वास छ । मसँग बाँकी रहेको एक मुठ्ठी सास र सत्यको साहस मात्रै हो । अरू मसँग केही पनि बाँकी छैन । तर सत्यको साथ र साहस भयो भने बाँकी केही कुरा चाहिँदो रहेनछ ।’ उनले चौतर्फी हमलाको बिचमा पनि पार्टीलाई अगाडि बढाउनको लागि काम गरेका सबैलाई धन्यवाद पनि दिएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend