काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धी एउटा अडिओ टेप सार्वजनिक भएपछि, विगतमा यस्ता घटनाहरू कारबाहीबिनै दबाइएको सम्झना गर्दै कतिपय विश्लेषकहरूले यस्ता मामिलाहरू नैतिकताको साथै कानुनी कारबाहीको विषय पनि हुने बताएका छन्।
हाल विभिन्न सञ्चारमाध्यमहरूमा प्रसारित भएको उक्त टेपमा, भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि २५ लाख र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँको लेनदेनको कुराकानी सुनिन्छ। मन्त्री गुप्ताको आवाज रहेको भनिएको यस टेपबारे अहिले प्रतिनिधिसभादेखि सामाजिक सञ्जालसम्म व्यापक छलफल चलिरहेको छ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै केही सांसदहरूले मन्त्री गुप्ताले राजीनामा दिनुपर्छ भनी माग गरेका छन्। यसैबीच, गुप्ताविरुद्ध कारबाहीमा उदासीनता देखिएको भन्दै केहीले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि आलोचना गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले सोमवार बिहान मन्त्री गुप्तालाई आफ्नो निवासमा बोलाएर कुरा गरेको र त्यसपछि गुप्ता मन्त्रालय नगएको विवरण सार्वजनिक भएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend