काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।
आयोगले मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ता अवधि तोकेको थियो। सो अवधि भित्र संयुक्त तथा एकल चुनाव चिन्ह लिएका गरी एक सय दलले आवेदन पेश गरेका हुन्। दर्ता भएका आवेदनहरू आयोगले आवश्यक अध्ययन–छानबिन गरेर मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने जनाएको छ।
आयोगका अनुसार समानुपातिकतर्फको बन्द सूची पुस १३ र १४ गते पेश गर्नुपर्नेछ। सूचीमाथि अध्ययनपछि माघ ४ गते प्रारम्भिक सूची सार्वजनिक गरिने र दाबी–विरोध तथा छानबिन सम्पन्न गरी माघ २० गते अन्तिम सूची प्रकाशित गरिनेछ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फबाट चुनिन्छन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने आयोगले जनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend