काठमाडौं। नयाँ लागु भएको भन्सार ऐन, २०८२ का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै भन्सार एजेन्टहरूले आइतबार देखी सुरु गरेको आन्दोलनका कारण मङ्गलवार देशभरका प्रमुख भन्सार नाकामा जाँचपास कार्य बन्द भयो। मानवीय त्रुटिमा समेत जरिवाना लगाउने तथा न्युन बीजकीकरणमा शतप्रतिशत जरिवाना लागु भएको प्रावधान सच्याउनुपर्ने मागसहित एजेन्टहरूले ‘पेन डाउन’ गरेका हुन् ।
भैरहवा, वीरगन्जलगायत मुख्य नाकामा राजस्व सङ्कलन व्यापक रूपमा प्रभावित भयो । वीरगन्जमा त एक रुपैयाँ पनि राजस्व उठेन भने भैरहवामा इन्धन बोक्ने सवारीबाहेक सबै रोकिएका थिए ।
भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच वार्ता जारी रहेको विभागले जनाएको छ। अधिकारीहरूले समस्या चाँडै समाधान हुने दाबी गर्दै आवश्यक संरचनागत तथा कानुनी विषय मन्त्रालयमार्फत अग्रसरता लिइने बताएका छन् । 
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend