बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

व्यापार युद्धले पीडित किसानलाई ट्रम्पको १२ अर्ब डलरको राहत प्याकेज

व्यापार युद्धले पीडित किसानलाई ट्रम्पको १२ अर्ब डलरको राहत प्याकेज

54
Shares
54
Shares

वासिंगटन (एपी)— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धका कारण मारमा परेका किसानका लागि १२ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज प्रस्ताव गरेका छन् । चीनमाथि लगाइएको उच्च भन्सारका कारण उत्पादन बिक्री घट्नु र लागत बढ्नुका बीच किसानहरूले भोगिरहेको संकट कम गर्न यो प्याकेज ल्याइएको व्हाइट हाउसका एक अधिकारीले बताएका छन् ।

गोपनीयताका शर्तमा जानकारी दिँदै अधिकारीले बताएअनुसार ट्रम्पले सोमबार दिउँसो व्हाइट हाउसमा आयोजना हुने राउन्डटेबल बैठकमार्फत यो योजना सार्वजनिक गर्नेछन्। सो कार्यक्रममा अर्थमन्त्री स्कट बेस्सेन्ट, कृषि मन्त्री ब्रुक रोलिन्स, कानून निर्माता तथा मकै, कपास, सोर्गम, सोयाबिन, धान, गहुँ, आलु तथा गाई–वस्तु पालक किसानको उपस्थिति रहनेछ।

ट्रम्पलाई राजनीतिक रूपमा किसानहरूले साथ दिँदै आए पनि उनका आक्रामक व्यापार नीतिहरू, भन्सार दरका निरन्तर उतारचढाव र त्यसले कृषि क्षेत्रलाई पारिरहेको प्रभावले पछिल्लो समय आलोचना बढेको छ। बढ्दो खर्चका कारण उपभोक्तामा देखा परिरहेको चिन्ता कम गर्न, तथा अर्थव्यवस्थाप्रतिको आफ्नो नेतृत्व बचाउन यो राहत प्याकेज प्रस्तुत गरिएको व्हाइट हाउसको दाबी छ।

१२ अर्बमध्ये करिब ११ अर्ब अमेरिकी डलर ‘फार्मर ब्रिज असिस्टेन्स’ कार्यक्रम अन्तर्गत राखिएको छ, जसले रो–क्रप (पंक्तिगत बाली) उत्पादन गर्ने किसानलाई एकपटकका भुक्तानी उपलब्ध गराउनेछ। चीनसँगको व्यापार विवादका कारण सोयाबिन र सोर्गम उत्पादन चरम प्रभावित भएका थिए, किनकि यी बालीको आधाभन्दा बढी अंश हरेक वर्ष चीनमै निर्यात हुने गर्दछ।

व्हाइट हाउसका अनुसार बाँकी रकम ब्रिज कार्यक्रम अन्तर्गत नपर्ने अन्य बाली उत्पादन गर्ने किसानका लागि छुट्याइएको हो। यसले किसानलाई चालु वर्षको बाली बिक्री र आगामी वर्षको बाली योजना बनाउन निश्चितता प्रदान गर्ने बताइएको छ।

चीनको किनमेल सुस्त
अक्टोबरमा दक्षिण कोरियामा ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट भएपछि चीनले वर्षअन्त्यसम्म १२ मिलियन मेट्रिक टन अमेरिकी सोयाबिन किन्ने र आगामी तीन वर्ष हरेक वर्ष २५ मिलियन मेट्रिक टन सोयाबिन आयात गर्ने वाचा गरेको थियो। तर हालसम्म चीनले २.८ मिलियन मेट्रिक टन मात्र खरिद गरेको छ, जुन वाचा गरिएकै एक चौथाइ हो। तर अर्थमन्त्री बेस्सेन्टका अनुसार चीन फेब्रुअरीअन्त्यसम्म लक्ष्य पुरा गर्ने मार्गमा रहेको छ।

“चिनीहरूले हाम्रा सोयाबिन किसानलाई व्यापार वार्ताका ‘प्यान’ जस्तै बनाए, त्यसैकारण यो ‘ब्रिज पेमेंट’ आवश्यक परेको हो,” बेस्सेन्टले सीबीएसको ‘फेस द नेशन’ कार्यक्रममा भने।

ट्रम्पको पहिलो कार्यकालमा पनि व्यापार युद्धका बीच २०१९ मा २२ अर्ब डलर र २०२० मा करिब ४६ अर्ब डलर (कोभिड–१९ सहायता समेत) किसानलाई दिइएको थियो।

यससँगै ट्रम्प बढ्दो गोमांस मूल्य नियन्त्रण गर्न दवाबमा छन्। माग बढिरहेको बेला अमेरिकामा सुख्खा परेर पशु संख्या घट्नु, मेक्सिकोबाट आयात कम हुनु तथा परजीवीको पुनःसक्रियता जस्ता कारणले मूल्य बढेको बताइन्छ। ट्रम्पले अर्जेन्टिनाबाट गोमांस आयात बढाउने संकेत समेत दिएका छन्।

यसै सन्दर्भमा उनले न्याय विभागलाई विदेशी स्वामित्व भएका गोमांस प्रसोधन कम्पनीहरूले मुल्य कृत्रिम रूपमा बढाएको जाँच गर्न आग्रह गरेका छन्, यद्यपि उनले दाबी प्रमाणित गर्ने कुनै ठोस आधार प्रस्तुत गरेका छैनन् ।

शनिबार ट्रम्पले कार्यकारी आदेश जारी गर्दै न्याय विभाग र फेडेरल ट्रेड कमिसनलाई बीउ, मल, कृषि उपकरणलगायत खाद्य–आपुर्ति शृंखलामा हुने ‘अप्रतिस्पर्धात्मक गतिविधि’ को छानबिन गर्न तथा आवश्यक कारबाही वा नयाँ नियम ल्याउन निर्देश गरेका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend