काठमाडौं । व्यवसायी तथा आफूलाई भ्रष्टाचारविरोधी अभियानकर्मीको रूपमा चिनाउँदै आएका दुर्गा प्रसाईलाई प्रहरीले चार दिन हिरासतमा राखी अनुसन्धान गर्ने अनुमति पाएको छ। उनी सोमबार राति सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ परेका हुन्।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार प्रहरीले सार्वजनिक शान्ति भंगसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासत अनुमति मागेको र सोही आधारमा अनुमति दिइएको हो । मुलुकी अपराध संहिताले यस्ता मुद्दामा प्रमुख जिल्ला अधिकारीलाई सुनुवाइ गर्ने अधिकार दिएको छ । सोही कार्यविधिअनुसार सार्वजनिक शान्तिविरुद्धका गतिविधिमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना सजाय तोक्न सकिन्छ ।
किन पक्राउ परे प्रसाई ?
पछिल्लो समय प्रसाईले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायत जेन जी आन्दोलनपछिको नेतृत्वसम्बन्धी तीव्र अभिव्यक्ति दिएका थिए। संविधान संशोधनमार्फत् हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै देशव्यापी हड्ताल समेत आह्वान गरेका उनीबारे सुरक्षा समितिको ताजा बैठकमा सुरक्षा चुनौतीबारे समीक्षा भएको सरकारका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार शान्तिपुर्ण प्रदर्शनलाई रोक्ने सरकारको इरादा नभए पनि शान्ति भंग गर्ने गतिविधि देखिएमा तत्कालै सुरक्षा निकायले कारबाही गर्ने निर्णय भएको थियो ।
यस्तै प्रसाईको समर्थनमा ‘नागरिक बचाऊ दल’ नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । यद्यपि दलको संरचनामा प्रसाई स्वयं देखिएका छैनन् । दलका सभापति माधव खतिवडाले प्रसाईकै सहयोगमा दर्ता प्रक्रिया अघि बढाएको बताएका छन् ।
प्रशासनको निगरानी र पक्राउको कारण
छठ पर्वपछि देशव्यापी आन्दोलनको चेतावनी दिएपछि प्रसाईलाई सरकारले वार्तामा समेत बोलाएको थियो । केही समय आन्दोलन स्थगित गरे पनि पछिल्ला दिनमा सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा सरकार र सुरक्षा निकायबारे आक्रामक अभिव्यक्ति दिँदै आएका थिए । सोमबार राति फेसबुकमा राखेको भिडियोमा समेत उनले जेन जी आन्दोलन बाह्य शक्तिको समर्थनमा भएको आरोप लगाएका थिए ।
उनका अभिव्यक्ति र क्रियाकलापले सार्वजनिक शान्ति भंग हुने संकेत पाएपछि पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रवक्ता पवन भट्टराईले बताए । उनका अनुसार प्रसाईले जेन जी आन्दोलनका बेला कार्यालय छोडेर भागेका प्रहरीबारे ‘अमानवीय टिप्पणी’ गरेको, प्रहरी सङ्गठनलाई होच्याउने अभिव्यक्ति दिएको र घरबाट पर्चा जफत गर्ने क्रममा प्रहरी नेतृत्वमाथि आलोचना गरेको पाइयो ।
समर्थकहरूको प्रतिक्रिया
प्रसाईका समर्थकहरूले उनलाई पक्राउ गर्न कुनै वास्तविक कारण नभएको दाबी गरेका छन् । नागरिक बचाऊ महाअभियानका सचिव प्रेमदीप लिम्बुले वर्तमान सरकारले आलोचना थोपर्न खोजेको आरोप लगाए । जिल्ला प्रशासन कार्यालयबाहिर उनीहरूले मंगलबार विरोध प्रदर्शन समेत गरे ।
यसअघि पनि प्रसाई पटक–पटक पक्राउ परेका थिए। चैत १५ गते काठमाडौँमा राजसंस्था समर्थक प्रदर्शनपछि भारततर्फ पुगेका उनलाई प्रहरीले असमबाट पक्राउ गरी ल्याएको थियो । पछि अदालतले धरौटीमा रिहा गरेको थियो ।
अन्य व्यक्तिहरू पनि पक्राउ पर्लान् ?
यसअघि सुरक्षा निकायमाथि आपत्तिजनक टिप्पणी गरेको आरोपमा कमल भुसाल (डा. निकोलस भुसाल) पक्राउ परेका थिए। सामाजिक सञ्जालमा एमाले नेता महेश बस्नेतमाथि समेत उत्तेजक अभिव्यक्ति दिएको भन्दै केहीले पक्राउको माग गरिरहेका छन्।
यो विषयमा प्रवक्ता भट्टराई भन्छन्, “कुनै पनि व्यक्तिको अभिव्यक्ति वा व्यवहारले सद्भाव भड्किने, अराजकता फैलिने संकेत देखिए अनुसन्धान र आवश्यक कारबाही हुन्छ ।”

FIle Photo
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend