काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनका तयारीमा जुटेका छन् । निर्वाचनअघि महाधिवेशन नगर्ने सम्भावना बढेपछि उनी बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुई आफ्ना निकट नेताहरूसँग छलफलमा व्यस्त भएका छन् ।
थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित १६–१९ पुसको कार्यतालिका पारित नभए विशेष महाधिवेशन नै विकल्प रहेको बताउँदै आएका छन्। तर कार्यवाहक सभापति पुर्णबहादुर खड्काले तालिकामाथि निर्णय नगरी केवल धारणा राख्ने मात्र अनुमति दिएका थिए ।
थापाले मंगलबारको बैठकमा १६–१९ पुसमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए भने संस्थापन पक्षले २७–२९ वैशाखको वैकल्पिक प्रस्ताव राखेको थियो। यस विषयमा पार्टीभित्र तीव्र ध्रुवीकरण देखिएको छ।
पार्टी नेताहरू दुई धारमा बाँडिएका छन । एक पक्षले निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् भने अर्को पक्षले निर्वाचनपछि मात्र गर्नुपर्ने तर्क गरेको छ। केही नेताहरूले भने मध्यमार्गी समाधान खोज्न नेतृत्वलाई सुझाव दिएका छन् ।
थापा पक्षले संस्थापन पक्षमाथि महाधिवेशन ढिलो गराएर आगामी मंसिरमा मात्र गर्ने रणनीति बनाएको आरोप लगाएको छ। बैठकमा नेताहरूबीच तीव्र मतभेद कायम रहँदा बिहीबार पनि छलफल जारी छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend