काठमाडौं । देशभर भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा अपेक्षाभन्दा कम युवा सहभागिता देखिँदा निर्वाचन आयोग चिन्तित बनेको छ। अहिलेसम्म जम्मा १ लाख ४७५ नयाँ मतदाता मात्र थपिएका छन्, जसमा ‘जेन-जी’ समुहको भागीदारी न्युन रहेको आयोगले जनाएको छ ।
आयोगले असोज ९ देखि सुरु भएको अभियान कार्तिक ३० सम्म सञ्चालन हुने र प्रचार अभियानलाई तीव्र बनाउने तयारी गरेको छ। प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दशैँ–तिहारका कारण सुरुमा प्रगति सुस्त भए पनि अहिले संख्या बढ्ने अपेक्षा गरिएको छ ।
हाल देशभर १ करोड ८२ लाख मतदाता दर्ता छन् — पुरुष ९२ लाख ५१ हजार, महिला ८९ लाख १६ हजार, र अन्य १८७ जना। आयोगले बायोमेट्रिक संकलन सहज बनाउन जिल्लास्तरमा हेल्प डेस्क स्थापना गर्ने र मोबाइल रिङटोनदेखि सामाजिक सञ्जालमार्फत प्रचार गर्ने योजना बनाएको छ।
प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तय गरिएको छ। फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकले मात्रै मतदान गर्न पाउनेछन्। आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने सम्भावनाबारे पनि कानुनी अध्ययन अघि बढाएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend