बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सरकारी सरह पारिश्रमिकको माग गर्दै नर्सहरू सडकमा, देशभर २ घण्टा सेवा ठप्प

सरकारी सरह पारिश्रमिकको माग गर्दै नर्सहरू सडकमा, देशभर २ घण्टा सेवा ठप्प

58
Shares
58
Shares

काठमाडौं – नेपाल नर्सिङ संघले सरकारीसरह पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउन माग गर्दै आन्दोलनमा उत्रिएका निजी अस्पताल र शिक्षण संस्थाका नर्सहरूप्रति ऐक्यबद्धता जनाउँदै बुधबार देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा दुई घण्टाका लागि ठप्प पारेको छ। संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरू आन्दोलनमा उत्रिएका हुन् ।

देशभरका नर्सहरूले आ-आफ्ना संस्थाको प्राङ्गणमा बिहान १० बजेदेखि १२ बजेसम्म भेला भएर प्रदर्शन गरेका थिए । उनीहरूले सरकारीसरह पारिश्रमिक पाउनुपर्ने मुख्य मागसहित नर्सिङ पेशाको हकहितका लागि १५ बुँदे मागपत्र सरकारसमक्ष पेश गर्दै आन्दोलन सुरु गरेका हुन् ।

नर्सहरूले राखेका प्रमुख मागहरूमा दक्ष नर्सिङ जनशक्तिलाई श्रमिकको रूपमा नभई दक्ष जनशक्तिका रूपमा स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने, जोखिम भत्ता, अतिरिक्त सेवाबापत छुट्टै पारिश्रमिक, आवश्यकता र मापदण्ड अनुसारको दरबन्दी सिर्जना, शैक्षिक योग्यता र कार्य अनुभवको आधारमा नियमित स्तरवृद्धि र बढुवा, सामुदायिक तथा निजी विद्यालयहरूमा नर्सको दरबन्दी सिर्जना, ज्यालादारीमा काम लगाउन नपाइने व्यवस्था कडाइका साथ लागु गरिनुपर्ने, सम्पुर्ण दरबन्दी स्थायी विज्ञापनमार्फत पदपुर्ति गरिनुपर्ने, नीति निर्माणमा समान सहभागिता र पहुँच, योग्यता अनुसार विशिष्टीकृत सेवा प्रवाहको व्यवस्था तथा कार्यस्थलमा हुने जोखिम वा दुर्घटनाको उचित क्षतिपुर्ति लगायत रहेका छन्।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्न निजी संस्थाहरूलाई आग्रह गरेको छ। यद्यपि, नर्सहरूले भने सरकारले यस्तो आग्रह यसअघि पनि गरिसकेको भए पनि निजी अस्पताल तथा शिक्षण संस्थाहरूले त्यसलाई कार्यान्वयन नगरेको भन्दै अब समान पारिश्रमिकसहित सबै जायज मागहरू कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend