बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सुत्केरीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, लाठीचार्ज र अश्रुग्यास प्रहार

सुत्केरीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, लाठीचार्ज र अश्रुग्यास प्रहार

50
Shares
50
Shares

काठमाडौं । ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा सुत्केरीको मृत्यु भएपछि सोमबार दिनभर अस्पताल परिसर तनावग्रस्त बनेको छ । खोटाङकी ३४ वर्षीया मिनाश्री राईको गत शुक्रबार सुत्केरी गराउने क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै विरोध प्रदर्शन गरेका थिए।

आक्रोशित आफन्त र स्थानीयले अस्पतालको मुख्य गेट तोडेर प्रदर्शन सुरु गरेका थिए । केही प्रदर्शनकारी अस्पताल परिसरभित्र प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनका क्रममा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको सुरक्षा निकायले जनाएको छ । अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मृतकका श्रीमान् रविन राईले ‘सब ठीक छ’ भनिए पनि अचानक अवस्था गम्भीर भएको खबर आएको र लापरबाहीले गर्दा मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालका प्रवक्ता डा. सन्तोष श्रेष्ठले भने चिकित्सक टोलीले सबै प्रोटोकलअनुसार उपचार गरेको दाबी गर्दै मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने बताएका छन् ।

राईको शव अहिले पाटन अस्पतालमा राखिएको छ। आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएसम्म पोस्टमार्टम गर्न नदिने अडान राखेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घटनाबारे प्राथमिक जानकारी लिई छानबिन समिति गठन गर्ने तयारी भइरहेको जनाएको छ । यसअघि पनि किस्ट अस्पतालमा उपचारमा लापरबाहीको आरोपमा विवादहरू उठ्ने गरेका थिए । हाल अस्पतालमा आकस्मिक र इन्टेन्सिभ सेवा मात्रै सीमित रूपमा सञ्चालन भइरहेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend