काठमाडौं । सुर्यदेवको आराधना र श्रद्धापूर्वक पूजा गर्दै मनाइने छठ पर्व आज बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ।
छठ पर्वको समापन बिहानको सुर्यलाई नदी, तलाउ वा पोखरी किनारमा बसेर गाईको दुध, फुल र पवित्र जल अर्पण गरेर गरिन्छ। यो विधिलाई ‘भिन्सरघाट पुजा’ पनि भनिन्छ। भक्तजनहरू पानीमा कम्मरसम्म डुबेर सुर्यलाई अर्घ्य दिने र दर्शन गर्ने परम्परा रहिआएको छ । यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । चतुर्थीका दिन शुद्ध आहार (चोखो) सेवन गरी व्रत सुरु गरिन्छ । व्रत अवधिभर बर्तालुले माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो, फापरजस्ता परिकार खान निषेध हुन्छ ।
छठलाई सुर्य र जलको आराधनाको पर्व मानिन्छ । जीवधारीहरूको जीवन सञ्चालन सुर्य र जलबाट हुने भएकाले सुर्यलाई शक्तिको स्रोत र नदीलाई माताको रूपमा पुजिन्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, कार्तिक शुक्ल पक्षमा सुर्यको पूजा गर्दा मनोकामना पुरा हुने र इच्छाअनुसारको फल प्राप्त हुने विश्वास छ। यस पर्वलाई ‘सुर्यषष्ठी’ पनि भनिन्छ । विवाहित महिलाले आफ्ना पति र परिवारको दीर्घायुको कामना गर्छन् भने अविवाहित युवतीले सुयोग्य वर र युवकहरूले सुयोग्य वधु प्राप्तिको कामना गर्छन्। सन्तान प्राप्तिको कामना गर्ने व्रतधारीहरूको सङ्ख्या पनि उल्लेखनीय हुन्छ ।
पौराणिक कथाअनुसार, छठीमाताले सुर्यदेवलाई प्रसन्न पार्न यो व्रत सुरु गरेकी थिइन् । महाभारतकालमा द्रौपदी र पाण्डवहरूले अज्ञातवास सफल होस् भनेर सुर्यदेवको आराधना गरेका थिए । सुर्य पुराणका अनुसार, अत्रिमुनिकी पत्नी अनुसुयाले पहिलोपटक छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। त्यस समयदेखि नै यो परम्परा चल्दै आएको जनविश्वास छ।
पहिले मुख्यतः तराईमा मनाइने यो पर्व विसं २०४६ पछि काठमाडौं र पहाडी क्षेत्रहरूमा पनि भव्य रूपमा मनाउन थालिएको हो। राजधानीका गुह्येश्वरी, कमलपोखरी, थापाथली र गौरीघाटजस्ता स्थानमा ठुलो संख्यामा भक्तजनहरूले सहभागिता जनाए । गुह्येश्वरी छठ पुजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार, छठ घाटहरू बेहुलीजस्तै सिँगारिएका थिए र बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ विधिवत् सम्पन्न गरिएको हो।
धेरैजसो व्रतालुहरू रातभर जाग्राम बसेर आराधनामा लीन भएका थिए । यस वर्ष पनि काठमाडौंमा छठ पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको अद्भुत माहोल सिर्जना गरेको देखियो ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend