बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

चलचित्र ‘वरिष्ठ बलराम’ को टोली काठमाडौंपछि मोफसलमा दर्शक भेट्दै

चलचित्र ‘वरिष्ठ बलराम’ को टोली काठमाडौंपछि मोफसलमा दर्शक भेट्दै

45
Shares
45
Shares

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को टोली काठमाडौंमा दर्शकहरूसँगको भेटघाट सकेर मोफसल (काठमाडौंबाहिरका सहरहरू) पुगेको छ । कलाकार र निर्देशक सहितको टोलीले मोफसलका दर्शकहरूसँग साक्षात्कार गरिरहेको छ ।

काठमाडौंका दर्शकहरूसँग प्रतिक्रिया लिएपछि ‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल पश्चिम नेपालका विभिन्न हलहरूमा पुगेका छन् । टोली शुक्रबारदेखि मोफसलका हलहरूमा पुगेर दर्शकहरूको प्रतिक्रिया लिइरहेको छ ।

निर्देशक सुरेन्द्र पौडेलका अनुसार दर्शकहरूले चलचित्रलाई ‘नेपाली मौलिक कथा भएको र हेर्नैपर्ने’ भन्दै उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् । “चलचित्रले दर्शकको मन जित्न सफल भएको छ । काठमाडौंका दर्शकले जस्तै मोफसलका दर्शकले पनि चलचित्र उत्कृष्ट भएको बताइरहनु भएको छ,” पौडेलले भने ।

तिहारको भाइटीकाको अवसरमा प्रदर्शनमा आएको यो चलचित्र देशभरका सिनेमा हलहरूमा उत्साहजनक दर्शक उपस्थितिका साथ चलिरहेको छ । निर्देशक पौडेलले धेरै शोहरू हाउसफूल भएको र हाउसफूल नभएका शोहरूमा पनि ७० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको जानकारी दिए । रिलिजको पहिलो दिनदेखि नै चलचित्रले हाउसफूल दर्शकको साथ पाएको छ भने कतिपय हलहरूमा ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ ।

राजधानी बाहिरका हलहरूमा समेत दर्शकको भीड देखिएको छ । ‘वरिष्ठ बलराम’को राम्रो अकुपेन्सीका कारण कतिपय हलहरूले शनिबारका शोहरू समेत थप गरेका थिए । पहिलो दिन र दोस्रो दिन पनि उच्च दर्शक उपस्थिति र धेरै शोहरू हाउसफूल हुनुले चलचित्रको ‘वर्ड अफ माउथ’ (मुख-मुखको प्रचार) राम्रो बनेको देखाउँछ ।

दयाहाङ राई र विजय बराल अभिनीत यस चलचित्रले पहिलो दिनदेखि नै सकारात्मक समीक्षा पाएपछि निर्माण पक्ष व्यापारप्रति आशावादी देखिएको छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्र वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्म्सको सहकार्यमा बनेको हो । चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । यसमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता तथा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे कार्यकारी निर्माता रहेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend