काठमाडौँ। अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको गम्भीर विपद्को सामना गर्न प्रमुख राजनीतिक दलहरूले आफ्ना सम्पुर्ण शक्तिलाई उद्धार र राहत कार्यमा सक्रियताका साथ खट्न आह्वान गरेका छन्।
माओवादी केन्द्रको ‘युद्धस्तर’ मा काम गर्ने अपील
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपद्को यस घडीमा राजनीतिक दल, सामाजिक संघसंस्था तथा नागरिक समाजलाई एकजुट हुन अपिल गर्नुभएको छ। अध्यक्ष दाहालले विज्ञप्ति जारी गर्दै तीनवटै तहका सरकारहरूलाई ‘युद्धस्तर’ मा समन्वय र नेतृत्व गर्न आग्रह गर्नुभएको छ । उहाँले पार्टी पङ्क्तिलगायत सबैलाई यो राष्ट्रिय विपत्तिमा सरकारलाई सहयोग गर्न आह्वान गर्नुभएको छ ।
एकीकृत समाजवादीको उद्धारमा जोड
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उच्च जोखिममा रहेका जनताको उद्धार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पनि जोखिममा परेका नागरिकको उद्धार तथा क्षति न्यूनीकरणको काममा आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको छ।
राप्रपाद्वारा दुःख व्यक्त र निर्देशन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बर्सातबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले विज्ञप्ति जारी गर्दै राप्रपाका सबै तहका नेता, कार्यकर्ताहरूलाई पीडित नागरिकको उद्धार कार्यमा सक्रिय रूपमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले सबैलाई आफ्नो सुरक्षामा ध्यान दिँदै उद्धारमा सक्रिय रहन आग्रह गर्नुभएको छ।
जसपाको पनि सहयोगमा जुट्न आह्वान
यसैगरी जनता समाजवादी पार्टी (जसपा) ले पनि विपद्को सामनाका लागि सहयोगको अपील गरेको छ । पार्टीका उपमहासचिव प्रदीप यादवले अपिल जारी गर्दै सम्पुर्ण नेता तथा कार्यकर्तालाई आ-आफ्नो क्षेत्रमा विपद् न्युनीकरण, उद्धार तथा राहतका काममा तत्काल लाग्न निर्देशन दिनुभएको छ ।
मुलुकले प्राकृतिक विपत्तिको सामना गरिरहेका बेला प्रमुख राजनीतिक शक्तिहरूले तत्काल राहत र उद्धार कार्यमा जोड दिएका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend