बुम्बइ । बलिउडका ‘किङ अफ रोमान्स’ शाहरुख खान संसारका धनी नायकहरूको सुचीमा गनिँदै पहिलो पटक अरबपति क्लबमा प्रवेश गरेका छन् । हुरुन इन्डिया रिच लिस्ट २०२५ का अनुसार ५९ वर्षीय सुपरस्टार खानको कुल सम्पत्ति १.४ अर्ब डलर (नेपाली रुपैयाँमा खरब) पुगेको छ । यो सुचीले उनलाई अर्नाल्ड श्वार्जेनेगर, रिहाना, टाइगर बुड र टेलर स्विफ्टजस्ता विश्वव्यापी हस्तीहरूकै लहरमा उभ्याइदिएको छ।
तीन दशकभन्दा लामो समयदेखि हिन्दी फिल्म उद्योगमा राज गरिरहेका शाहरुख खानको आम्दानीको मुख्य स्रोत उनको अभिनयबाहेक अन्य व्यवसाय पनि हुन्। हुरुन इन्डियाका संस्थापक अनस रहमान जुनैदका अनुसार उनको सम्पत्ति बढ्नुमा मुख्य गरी उनको प्रोडक्सन कम्पनी रेड चिली इन्टरटेनमेन्ट र आइपिएल क्रिकेट क्लब नाइट राइडर स्पोर्ट्सको महत्त्वपुर्ण भुमिका छ ।
यसका साथै, फिल्मको आम्दानी, ठुला विज्ञापन र विश्वव्यापी घरजग्गामा गरेको लगानीले पनि उनलाई यो कीर्तिमानी उचाइमा पुर्याएको हो। जुनैदले भारतमा अब मनोरञ्जन र खेलजस्ता क्षेत्रहरू पनि सम्पत्ति आर्जन गर्ने महत्त्वपुर्ण इन्जिनको रूपमा उदाएको बताए ।
यस वर्षको हुरुनको सुचीमा शाहरुख खानपछि बलिउडबाट नायिका जुही चावला र उनको परिवार ८८ करोड डलर सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । यसै गरी, नायक ह्रितिक रोशन (२६ करोड डलर), निर्देशक करण जोहर (२० करोड डलर) र अमिताभ बच्चन तथा उनको परिवार (१८ करोड ३० लाख डलर) पनि सुचीमा अटाएका छन् ।
भारतमा अरबपतिहरूको सङ्ख्या ३५० नाघेको छ, जसमा यस वर्ष पनि मुकेश अम्बानी र गौतम अडानी पहिलो र दोस्रो स्थानमा छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend