काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैं आज नेपालमा (अमेरिकामा भोलि) गुरु पुरोहित र मान्यजनको हातबाट टीका ग्रहण गरी मनाइँदै छ । यस वर्ष टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
साइत र शुभ-अशुभको विशेष महत्त्व रहने हुँदा टीका लगाउने बेला कता फर्किएर बस्ने भन्ने बारेमा धेरैमा जिज्ञासा हुने गर्दछ ।
परम्परा अनुसारको उत्तम दिशा: पुर्व-पश्चिम
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउने पुरातन र परम्परागत विधि अनुसार पूर्व-पश्चिम दिशा नै उत्तम मानिन्छ ।
उहाँ भन्नुहुन्छ, “सामान्यतया: पुर्व–पश्चिम नै हाम्रो पुरानो परम्परा हो । दशैंको टीका थाप्ने व्यक्ति पुर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्छ ।”
यसरी पुर्व फर्किँदा सुर्य उदय हुने दिशा, ज्ञान र प्रगतिको दिशा मानिने हुँदा शुभ मानिन्छ ।
दक्षिण दिशामा फर्किन किन हुँदैन?
केही व्यक्तिले टीका लगाउने बेला दक्षिण दिशामा फर्किएर पनि टीका थाप्ने गरेको पाइन्छ। तर, प्रा.डा. भट्टराई यसरी टीका नलगाउन सुझाव दिनुहुन्छ।
उहाँका अनुसार, धार्मिक कार्यहरूमा दक्षिण दिशालाई पितृ कर्म (दिवङ्गत पितृहरूको सम्झनामा गरिने कार्य) का लागि मात्रै प्रयोग गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिणतर्फ नफर्किनु नै श्रेयस्कर हुन्छ।
कतिपयले चन्द्रमाको अवस्था हेरेर वा साइतअनुसार विस्तृत रूपमा दिशा निर्धारण गर्ने प्रयास गरे पनि, आम चलनमा भने टीका थाप्नेले पुर्व र लगाइदिनेले पश्चिम फर्कने सामान्य विधि नै अपनाइने उहाँले प्रस्ट पार्नुभयो।
देवी विसर्जनको साइत र प्रसादको महत्त्व
समितिका अनुसार, यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा रहेको छ, जसपछि माता दुर्गालाई बिदा गरिन्छ। तर, काम विशेषले टाढा जानुपर्ने वा उत्तम साइतमा फुर्सद नहुने व्यक्तिहरूले देवी विसर्जन गरे लगत्तै झुल्के घामको समय बाटै टीका लगाउन सक्ने जानकारहरू बताउँछन् ।
किनभने, टीका र जमरा देवी दुर्गाको पुजाको प्रसाद भएकाले शुद्ध मनले प्रसाद ग्रहण गर्नका लागि साइत हेरिराख्नु पर्दैन । यसलाई शुभ कार्यको निरन्तरताका रूपमा लिन सकिन्छ।
Photo: AI
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend