काठमाडौँ । दुई साताअघि भएको जेन-जी आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको एक आन्तरिक प्रतिवेदनले देखाएको छ । प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार, दुई दिनको प्रदर्शनमा देशभरबाट २ हजार ६ सय ४२ राउन्ड ‘लाइभ’ (धातुका) गोली प्रहार भएको थियो ।
प्रदर्शन नियन्त्रणका लागि कुल १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको थियो, जसमा रबरका गोली, हवाई फायर र ६ हजार २ सय ७९ सेल अश्रुग्यास समेत समावेश छ । सबैभन्दा बढी बल प्रयोग काठमाडौँ उपत्यकामा भएको थियो, जहाँ १ हजार ३ सय २९ राउन्ड लाइभ गोली चलेको थियो ।
आन्दोलनका क्रममा भएको झडप र प्रहरी दमनमा परी ७५ जनाको मृत्यु भएको थियो । मृतकहरूको पोस्टमार्टम प्रतिवेदनमा अधिकांशको मृत्यु तीव्र गतिको हतियार (एसएलआर, इन्सास) को गोली कम्मरभन्दा माथिको भागमा लागेर भएको उल्लेख छ, जुन स्थानीय प्रशासन ऐन, २०२८ विपरीत हो । ऐनले अन्तिम अवस्थामा मात्र घुँडामुनि गोली चलाउन सक्ने व्यवस्था गरेको छ ।
सुरक्षाविज्ञ र मानवअधिकारकर्मीहरूले यसलाई हालसम्मकै सबैभन्दा ठुलो र गैरव्यावसायिक बल प्रयोग भएको टिप्पणी गरेका छन् ।
प्रहरीले आन्दोलनको पुर्वसुचना संकलनमा कमजोरी भएको स्वीकारेको छ। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले घटनामा कति गोली चल्यो र के कति क्षति भयो भन्नेबारे प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मीको नेतृत्वमा छानबिन समितिले काम गरिरहेको जानकारी दिएका छन् ।
File Photo
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend