विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार संविधानको परिधिमा चल्ने भएकाले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री खनालले प्रदेश खारेजीको विषयमा सरकारको कुनै सोच नभएको बताएका हुन् ।
बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले हालै चलेका विभिन्न हल्लाहरूलाई निराधार बताए। बजारमा चलेको रु ५०० र रु १००० का नोटमा प्रतिबन्ध लगाउने हल्लाका विषयमा सोधिएको प्रश्नमा मन्त्री खनालले यसबारे कुनै पनि स्तरमा छलफल नभएको र यो केवल हल्ला मात्र भएको जानकारी दिए ।
यसका साथै, भारत सरकारले हालै घटाएको एकीकृत कर ‘गुड्स एन्ड सर्भिसेज ट्याक्स’ (जीएसटी) का सम्बन्धमा नेपाल सरकारले अध्ययन गरिरहेको उनले बताए। उक्त निर्णयले नेपाली उद्योग, व्यवसाय वा औद्योगिक प्रतिष्ठानमा कुनै नकारात्मक असर पर्ने देखिएमा सुधारका लागि आवश्यक कदम चालिने आश्वासन पनि अर्थमन्त्री खनालले दिएका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend