बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त भण्डारी र दुलाल पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त भण्डारी र दुलाल पक्राउ

106
Shares
106
Shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणका मुख्य अभियुक्त मानिएका सानु भण्डारी र केशव दुलाललाई प्रहरीले पक्राउ गरेको छ । केही समयअघि केन्द्रीय कारागारमा भएको आगजनी र तोडफोडको घटनामा मौका छोपी फरार भएका उनीहरूलाई मंगलबार ललितपुरको धापाखेलबाट पक्राउ गरिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई धापाखेलमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’को क्रममा प्रदर्शनकारीले केन्द्रीय कारागार, सुन्धारामा आक्रमण गरी आगजनी र तोडफोड गरेका थिए। सोही अराजक घटनाको फाइदा उठाउँदै भण्डारी र दुलालसहित अन्य केही कैदी बन्दीहरू कारागारबाट भागेका थिए।

भण्डारी र दुलाललाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा चलाइएको थियो। उनीहरूलाई यस प्रकरणको मुख्य योजनाकार र नाइकेका रूपमा चिनिन्छ। यस मुद्दामा उच्च पदस्थ राजनीतिकर्मी, कर्मचारी र अन्य व्यक्तिहरू समेत मुछिएका छन्।

कारागारबाट भागेपछि प्रहरीले उनीहरूको खोजी कार्यलाई तीव्रता दिएको थियो। विशेष सूचनाको आधारमा उनीहरू धापाखेलमा रहेको पत्ता लागेपछि प्रहरी टोलीले सफलतापुर्वक पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी पुनः कारागार चलान गरिने प्रहरीले जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend