बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

काठमाडौँ मेयर बालेनको भावुक सन्देश: Gen Z प्रति सम्मान र शहिदप्रति श्रद्धाञ्जली

काठमाडौँ मेयर बालेनको भावुक सन्देश: Gen Z प्रति सम्मान र शहिदप्रति श्रद्धाञ्जली

101
Shares
101
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हालैको आन्दोलनमा जीवन अर्पण गर्ने शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले विशेष गरी आन्दोलनको अगुवाइमा सक्रिय युवापुस्ता “Gen Z” लाइ उनीहरूको साहस, योगदान र बलिदानप्रति उच्च सम्मान प्रकट गरेका छन्।

मेयर बालेनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका शब्दहरूमा भनेका छन् – “प्रिय Gen Z, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देश प्रेम र कर्तव्य बोधको मार्गदर्शन गर्नेछ। तपाईँहरूप्रति असीम सम्मान।”

त्यससँगै उनले आन्दोलनमा घाइते भएका सबैप्रति चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएका छन् ।

हालैको आन्दोलनका क्रममा युवापुस्ताको सक्रिय सहभागिता निर्णायक मानिएको छ। विशेष गरी सामाजिक न्याय, समान अवसर र पारदर्शी शासनव्यवस्थाका मागसहित देशभर देखिएको विरोध प्रदर्शनमा विद्यार्थी र नयाँ पुस्ताले नेतृत्व गरेका थिए । यस क्रममा केही युवाले आफ्नो ज्यानसमेत गुमाउनु पर्‍यो भने सयौँ घाइते भएका थिए ।

बालेनको सन्देशलाई धेरैले भावनात्मक समर्थनको रूपमा लिएका छन् । राजनीतिक नेतृत्वप्रति निराशा बढिरहेको अवस्थामा मेयरले खुलेर युवाको बलिदानको कदर गर्नुले नयाँ पुस्तामा प्रेरणा दिने विश्वास गरिएको छ ।

यसअघि पनि बालेन शाहले युवापुस्ताको मुद्दा र आवाजलाई निरन्तर समर्थन गर्दै आएका छन् । उनले आन्दोलनको परिणामलाई केवल असन्तुष्टि मात्र नभई प्रणालीगत सुधारको अवसरको रूपमा लिनुपर्ने बताएका छन् ।

नेपालको राजनीतिक संक्रमण र अस्थिरताबिच युवापुस्ताको सक्रियता र बलिदानलाई स्मरण गर्ने मेयर बालेनको यो सन्देश अहिले सामाजिक मञ्चहरूमा व्यापक रूपमा चर्चामा छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend