काठमाडौँ । संयुक्त राज्य अमेरिकाले ३७ मिलियन डलरको अनुदानमार्फत दुई वटा नयाँ M28 स्काइट्रक विमान नेपाली सेनालाई हस्तान्तरण गरेको छ। यससँगै सेनासँग स्काइट्रक विमानको संख्या पाँच पुगेको छ। अमेरिकाले सन् २०१९ मा दुई स्काइट्रक दिएको थियो भने एउटा नेपालले आफ्नै खर्चमा खरिद गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदुत डिन थम्पसनले विमान सेनालाई बुझाए। कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, रक्षा मन्त्री मानवीर राय, प्रधानसेनापति आशोकराज सिग्देल, उच्च अधिकारीहरू र PZL कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

राजदुत थम्पसनले यी विमानले नेपाललाई आपत्कालीन अवस्थाहरूमा छिटो र प्रभावकारी ढंगले प्रतिक्रिया दिन मद्दत गर्ने बताए। उनले भने, “यी विमान केवल मेशिन होइनन्, यी जीवन रेखा हुन्। यसले नेपाललाई आपत्कालीन उद्धार र राहतमा अझ सशक्त बनाउनेछ।”
परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन, “यो क्षण नेपाली सेनाको विपद् व्यवस्थापन क्षमतामा मात्र होइन, नेपाल–अमेरिका बिचको दिगो मित्रता र सहकार्यको प्रतीक पनि हो ।”

Lockheed Martin को सहायक कम्पनी PZL Mielec द्वारा निर्मित यी बहु उपयोगी विमानमध्ये एकलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिनेछ। छोटो धावनमार्गमै उडान गर्न सक्ने क्षमताका कारण यी विमान दुर्गम क्षेत्रमा समेत पुग्न सक्षम हुनेछन्। चालक र प्राविधिकहरूले नेपाल र युरोपमा विशेष प्रशिक्षण प्राप्त गर्नेछन्।
यसअघि प्राप्त स्काइट्रक विमानहरू नेपाली सेनाले मानवतावादी राहत, बिरामी उद्धार तथा दुर्गम गाउँमा आपूर्ति पुर्याउने कार्यमा प्रभावकारी रूपमा प्रयोग गर्दै आएको छ।
Photo: Us Embassy, Nepal Facebook
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend