काठमाडौँ – हास्य विधामा आधारित चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन संविधान दिवसको अवसर पारेर शनिवार (असोज ३ गते) देखि प्रसारण सुरु भएको छ ।
शोको ग्राण्ड प्रिमियर स्वरूप प्रसारण भएको पहिलो एपिसोड हिमालय टेलिभिजनबाट राति ९ बजे र ओएसआर रियालिटीको युट्युब च्यानलबाट हेर्न सकिन्छ । पहिलो एपिसोडमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी विशेष पाहुनाका रूपमा सहभागी थिए ।
चौथो सिजनमा जज प्यानलमा उल्लेख्य परिवर्तन गरिएको छ । पहिलो तीन सिजनदेखि निरन्तर रहेकी ऋचा शर्मा बाहेक मनोज गजुरेल, सन्तोष पन्त र प्रदीप भट्टराईको स्थानमा अब जितु नेपाल, बुद्धि तामाङ र शोका निर्देशक विशाल भण्डारी जजको रूपमा देखिनेछन् । सञ्चालकतर्फ मेक्सम गौडेल निरन्तर रहेका छन् भने रीमा विश्वकर्माको स्थानमा नम्रता श्रेष्ठलाई ल्याइएको छ ।

निर्देशक भण्डारीका अनुसार विगतका सिजनमा जोकको प्याटर्न र इनसाइड जोकहरू उस्तै हुँदै गएकाले यस पटक फरक शैली, नयाँ जोक र फ्रेस रोस्ट प्रस्तुत गर्न यो परिवर्तन गरिएको हो । थ्री प्रोडक्सन टिमको प्रस्तुति रहेको र सगुन पाण्डे प्रमुख कार्यकारी निर्माता रहेको यो सिजन करिब ३० एपिसोडसम्म चल्नेछ ।
निर्देशक भण्डारीले यो शोसँग आफ्नो छुट्टै भावनात्मक सम्बन्ध रहेको बताउँदै दर्शकलाई नयाँ कलाकारको ‘हिरो फ्रम जिरो’ यात्राको साक्षी बन्न आग्रह गरेका छन् । “कोही अनुभवसहित आउँछन्, कोही छनोट हुँदै आउँछन्, तर २/३ महिनाको दिनरातको मेहनतपछि यहाँबाट अब्बल कमेडियन बनेर निस्कन्छन्,” उनले भने, “केही महिनापछि यही मञ्चबाट तयार भएका कलाकारले तपाईँलाई लोटपोट हँसाउनेछन्, जसको साक्षी बन्न पाउनु हाम्रो टिमका लागि गर्वको विषय हो ।”
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend