सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

टेम्केमैयुङमा मातृत्व जोगाउने अभियान सम्पन्न

टेम्केमैयुङमा मातृत्व जोगाउने अभियान सम्पन्न

28
Shares
28
Shares

भोजपुर । महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित चार दिने “मातृत्व जोगाउने अभियान” सफलतापूर्वक सम्पन्न भएको छ।

आम नेपाली महिलाले पाठेघरको मुखको क्यान्सरका कारण भोग्नुपरेको दुःख र पीडालाई न्यूनीकरण गर्ने सोच, संकल्प र अभियानका रूपमा कल्प इम्पावर वुमेन नेपालको पहल, नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्य तथा टेम्केमैयुङ गाउँपालिकाको समन्वयमा अभियान सञ्चालन गरिएको हो।

भाद्र १६ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको अभियानअन्तर्गत स्वास्थ्य सचेतना, किशोरी अभिमुखीकरण, समुदाय स्तरीय स्वास्थ्य साक्षरता तथा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका कार्यक्रम आयोजना गरिएको थियो।

अभियानको पहिलो दिन, भाद्र १६ गते, टेम्केमैयुङ गाउँपालिकाका किशोरीहरूका लागि ‘SHE CAN (उनी सक्छिन्) अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बीएस्सी नर्स तथा अभियानकर्मीहरूले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गर्नुका साथै सामाजिक समस्या पहिचान, आत्मबल अभिवृद्धि र नेतृत्व विकाससम्बन्धी सत्र सञ्चालन गरेका थिए।

त्यसै गरी, भाद्र १७ गते किशोरीहरूलाई समुदाय र सामाजिक विषयवस्तुबारे बुझाउने उद्देश्यले सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा घर-घर तथा समुदाय स्तरमा पुगेर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र महिलाको स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो।

अभियानको तेस्रो र चौथो दिन, भाद्र १८ र १९ गते, टेम्केमैयुङ गाउँपालिकास्थित अन्नपूर्ण स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको निःशुल्क परीक्षण, स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो। दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट १३७ जना महिलाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पतालका विज्ञ तथा प्राविधिक स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। परीक्षणका क्रममा दुई जना महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शंकास्पद लक्षण पहिचान भएको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा. रेखा साहले जानकारी दिनुभयो। थप परीक्षण तथा आवश्यक उपचारका लागि सम्बन्धित महिलालाई स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक परामर्श प्रदान गरिएको छ।

अभियानका क्रममा महिलाहरूलाई रोगको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य तथा समयमै उपचारको महत्वबारे जानकारी प्रदान गरिएको थियो।

अभियानको पहलकर्ता संस्था कल्प इम्पावर वुमेन नेपालका प्रतिनिधिका अनुसार, ‘मातृत्व जोगाउने अभियान’ले महिलाहरूमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै ग्रामीण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

संस्थाले आगामी दिनमा पनि स्थानीय तह, स्वास्थ्य संस्था, निजी क्षेत्र तथा अन्य सरोकारवालासँगको सहकार्यमा महिलाको स्वास्थ्य संरक्षण, रोगको प्रारम्भिक पहिचान र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend