काठमाडौँ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद घाटामा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ५४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको कम्पनी यस वर्ष ठुलो घाटामा पुगेको हो।
कम्पनीका अनुसार जेनजी आन्दोलनका क्रममा भएको क्षतिपूर्तिसम्बन्धी दाबी भुक्तानीका कारण वित्तीय अवस्थामाथि उल्लेखनीय दबाब परेको छ। त्यसको प्रभाव स्वरूप कम्पनीको रिटेन्ड अर्निङ ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ ऋणात्मक बनेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस शीर्षकमा ९३ करोड ३७ लाख रुपैयाँ सञ्चित बचत रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी १३.२३ प्रतिशतले घटेर ६ अर्ब ७९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद बीमाशुल्क आम्दानी पनि १८.०१ प्रतिशतले घट्दै ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँमा झरेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ४३ रुपैयाँ ५१ पैसा ऋणात्मक भएको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २० पैसामा झरेको छ। यद्यपि विशेष रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ तथा महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ यथावत् रहेको कम्पनीले जनाएको छ।
नेपाल रिले स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय पुनर्बीमकको रूपमा आफ्नो पहिचान कायम राखेको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट, आर्थिक गतिविधिमा आएको सुस्तता तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण लगानी प्रतिफल र बिमा व्यवसाय विस्तारमा चुनौती थपिएको जनाएको छ। कम्पनीले आगामी दिनमा लगानीको विविधीकरणलाई प्राथमिकता दिँदै वित्तीय अवस्था सुदृढ बनाउने रणनीति अपनाउने जनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend