मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रो पटक विश्व विजेता

अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रो पटक विश्व विजेता

23
Shares
23
Shares

न्यु योर्क । अतिरिक्त समयको १०६ औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक फिफा विश्वकप फुटबलको उपाधि जितेको छ। यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न फाइनलमा स्पेनले खेलभरि दबाब कायम राखे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा टिकाइराखेका थिए। स्पेनले कुल १२ वटा प्रहार गोलपोस्टतर्फ गरेको थियो भने साबिक विजेता अर्जेन्टिनाले नियमित समयभरि एक पटक पनि गोलतर्फ प्रहार गर्न सकेन।

मार्टिनेजले विश्वकप फाइनलमा सर्वाधिक ११ बचाउ गर्ने कीर्तिमान बनाए पनि अतिरिक्त समयको १०६औँ मिनेटमा निको विलियम्सको हेड पासलाई फेरान टोरेसले शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरेपछि अर्जेन्टिनाको प्रतिरोध अन्त्य भयो।

खेलपछि टोरेसले भने, “मैले धेरै सोचिनँ। बल मेरोतर्फ आइरहेको देखेँ र सम्पूर्ण स्पेनी जनताको शक्तिका साथ प्रहार गरेँ।”

यस जितसँगै स्पेनले अर्जेन्टिनालाई उपाधिबाट विमुख बनायो। अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्ने लक्ष्यमा थियो। स्पेनको ऐतिहासिक जितको साक्षी बन्न सन् २०१० मा विश्वकप जितेको स्पेनी टोलीका सदस्यहरू पनि रंगशालामा उपस्थित थिए।

अतिरिक्त समयमै टोरेसले अर्को गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाएको जस्तो देखिए पनि भिडियो समीक्षा (VAR) पछि उनी अफसाइड रहेको निर्णय दिइयो। त्यसपछि खेलको अन्तिम केही मिनेटमा अर्जेन्टिनाले पहिलो पटक आक्रामक प्रयास गर्दै दुई खतरनाक प्रहार गरेको थियो, तर स्पेनले आफ्नो अग्रता जोगाउन सफल भयो।

अर्जेन्टिनाले खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनका पाउ कुबार्सीमाथि गरेको फाउलका कारण दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्ड खाँदै मैदान छाडेका थिए।

१० खेलाडीमा सीमित भएपछि अर्जेन्टिनाको अवस्था थप कठिन बन्यो। कप्तान लियोनेल मेस्सीले खेलभरि ५४ पटक बल छोए पनि केवल एक पटक मात्र गोलतर्फ प्रहार गर्न सके।

खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले स्पेनको प्रशंसा गर्दै भने, “प्रतिद्वन्द्वीले उत्कृष्ट प्रदर्शन गर्‍यो, त्यसको सम्मान गर्नुपर्छ। यदि हामी ११ खेलाडीमै खेलिरहेका हुन्थ्यौं भने के हुन्थ्यो भन्ने जान्न मन थियो। आज धेरै चुनौतीहरू थिए। चोटका कारण हामीले योजनाबाहिर परिवर्तन गर्नुपर्‍यो।”

उनले थपे, “ड्रेसिङ रुममै म धेरै रोइसकेँ, त्यसैले अहिले आँसु छैन। तर आफ्ना खेलाडीहरूप्रति म गर्व गर्छु। उनीहरू साँचिकै योद्धा हुन्। हामीले उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गरेका थियौँ।”

स्पेनले प्रभावशाली प्रदर्शन गर्दै दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि उचाल्दा अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना भने अधुरै रह्यो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend