मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

ग्रिन कार्डका लागि एक लाख डलर धरौटी लिने तयारीमा ट्रम्प प्रशासन

ग्रिन कार्डका लागि एक लाख डलर धरौटी लिने तयारीमा ट्रम्प प्रशासन

100
Shares
100
Shares

कोलोराडो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकाको स्थायी बसोबास अनुमति (ग्रिन कार्ड) का लागि आवेदन दिने केही विदेशी नागरिकबाट एक लाख अमेरिकी डलर आजको बिनिमय दर अनुसार(US$1 = Rs 153.86) करिब १ करोड त्रिपन्न लाख ८६ हजार नेपाली रुपैयाँ) सम्मको अग्रिम धरौटी (बन्ड) लिन सक्ने प्रस्तावमाथि विचार गरिरहेको छ ।

द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी विदेश मन्त्रालयले यो प्रस्तावको समीक्षा गरिरहेको छ । ट्रम्प प्रशासनले आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्ने आप्रवासीको संख्या घटाउने नीति अन्तर्गत यस्तो व्यवस्था ल्याउने तयारी गरेको हो ।

प्रस्तावअनुसार अमेरिकाबाहिरबाट स्थायी आप्रवासी भिसा (इमिग्रेन्ट भिसा) का लागि आवेदन दिने व्यक्तिले ठुलो रकम धरौटीका रूपमा बुझाउनुपर्नेछ । केही अधिकारीहरूले यो रकम एक लाख अमेरिकी डलरसम्म हुन सक्ने बताएका छन् । यद्यपि, सबै आवेदकका लागि एउटै रकम लागु नहुन सक्ने र व्यक्तिअनुसार फरक हुन सक्ने जनाइएको छ ।

समाचारअनुसार यो नीति सुरुमा सीमित संख्याका देशहरूमा परीक्षण (पाइलट) का रूपमा लागु गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ ।

यदि प्रस्ताव कार्यान्वयनमा आयो भने आवेदकले आवेदनका बेला धरौटी रकम बुझाउनुपर्नेछ । पछि उनीहरूले अमेरिकी नागरिकता प्राप्त गरेपछि उक्त रकम फिर्ता पाउनेछन् । अमेरिकामा नागरिकता प्राप्त गर्न सामान्यतया ५ वर्ष लाग्ने भएकाले धरौटी रकम लामो समयसम्म सरकारसँग रहनेछ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले राष्ट्रपति ट्रम्पले अमेरिकामा बसाइँ सर्न चाहने व्यक्तिहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने स्पष्ट नीति लिएको बताएका छन् । उनका अनुसार केही भिसा आवेदकलाई आवश्यक आर्थिक स्रोत रहेको प्रमाणित गर्न धरौटी राख्नुपर्ने व्यवस्था गर्ने विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।

प्रस्तावित धरौटी प्रणालीको उद्देश्य अमेरिकामा आएपछि सरकारी सहायता वा सामाजिक सेवामा निर्भर हुन सक्ने जोखिम कम गर्नु रहेको बताइएको छ । यदि कुनै ग्रिन कार्डधारक आर्थिक रूपमा आत्मनिर्भर हुन नसकेमा उक्त धरौटीलाई सुरक्षा (कोलाटेरल) का रूपमा प्रयोग गर्न सकिने अवधारणासमेत अघि सारिएको छ ।

विश्लेषकहरूका अनुसार यस्तो उच्च धरौटीले विशेष गरी न्युन आय भएका देशका नागरिकलाई ग्रिन कार्डका लागि आवेदन दिन कठिन बनाउनेछ । राम्रो रोजगारी र आम्दानीको खोजीमा अमेरिका जान चाहने धेरै आवेदकका लागि यति ठुलो रकम जुटाउन चुनौतीपुर्ण हुने अनुमान गरिएको छ ।

अमेरिकामा ग्रिन कार्ड प्रायः अमेरिकी नागरिकका श्रीमान्–श्रीमती, बाबुआमा, दाजुभाइ–दिदीबहिनी लगायतका पारिवारिक सदस्यलाई प्रदान गरिने स्थायी आप्रवासी भिसामार्फत उपलब्ध गराइन्छ। गत वर्ष मात्रै अमेरिकी प्रशासनले करिब ५ लाख स्थायी आप्रवासी भिसा जारी गरेको थियो ।

हालसम्म यो प्रस्ताव अन्तिम निर्णयमा पुगेको छैन । विदेश मन्त्रालयले यसको कानुनी, प्रशासनिक तथा व्यावहारिक पक्षबारे समीक्षा गरिरहेको जनाएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend