मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

‘बा: एक योद्धा’ मा देखिने भए अभिनेता अनिल बुढाथोकी

‘बा: एक योद्धा’ मा देखिने भए अभिनेता अनिल बुढाथोकी

38
Shares
38
Shares

निर्देशक हरि लम्सालको निर्देशन रहेको चलचित्र ‘बा: एक योद्धा’ मा अभिनेता अनिल बुढाथोकी मुख्य भूमिकामा देखिने भएका छन् । निर्माण टिमले कलाकारहरू क्रमशः सार्वजनिक गर्ने क्रममा अनिल पनि चलचित्रका प्रमुख कलाकारमध्ये एक रहेको जानकारी दिएको हो ।

चलचित्र ‘कर्मा’ मार्फत अभिनय यात्रा सुरु गरेका अनिलले पहिलो फिल्मबाटै दर्शकको प्रशंसा बटुलेका थिए। यद्यपि, चलचित्रले अपेक्षित व्यावसायिक सफलता हासिल गर्न नसक्दा उनको अभिनय धेरै दर्शकमाझ पुग्न सकेन। ‘कर्मा’मा उनी अभिनेता विपिन कार्कीपछि दोस्रो मुख्य भुमिकामा थिए।

‘बा: एक योद्धा’ आफ्नो दोस्रो चलचित्र भएको बताउँदै अनिलले पहिलो फिल्ममा दर्शकबाट पाएको माया यस पटक पनि कायम रहने विश्वास व्यक्त गरेका छन्। उनले पहिलो चलचित्रका अनुभवबाट सिक्दै यस पटक अभिनयमा थप परिपक्वता ल्याउने प्रयास गरेको बताए।

आगामी भदौ १९ गते प्रदर्शनमा आउने ‘बा: एक योद्धा’को कथा नेपाली परिवारमा सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीहरूमा आधारित छ। चलचित्र कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।

चलचित्रमा अनिलसँगै दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भुमिकामा छन्।

नेपाली संगीत क्षेत्रमा थुप्रै चर्चित गीत दिएका हरि लम्सालले यस चलचित्रमार्फत पहिलो पटक फिचर फिल्म निर्देशन गरेका हुन्। उनले चलचित्रको कथा र पटकथा पनि स्वयं लेखेका छन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता कोलोराडो निवासी वसन्त लम्साल हुन्, जसले यसअघि ‘कर्मा’ निर्माण गरेका थिए ।

चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन्। आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले चलचित्रको वितरण गर्नेछ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend