मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

‘बा: एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक, बुवाको संघर्षको कथा उजागर

‘बा: एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक, बुवाको संघर्षको कथा उजागर

43
Shares
43
Shares

काठमाडौँ । आगामी भदौ १९ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘बा: एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार सार्वजनिक गरेको पोस्टरले चलचित्रको कथावस्तु र मुख्य पात्रबारे धेरै तथ्य उजागर गरेको छ।

पोस्टरमा चलचित्रका मुख्य पात्रहरू तनावपूर्ण अवस्थामा देखिएका छन्। लामो समयदेखि रहँदै आएको ‘बा’ को पात्रबारेको जिज्ञासा पनि पोस्टरमार्फत समाप्त भएको छ। चलचित्रमा ‘बा’को भुमिकामा वरिष्ठ कलाकार दिव्य देव रहेको पुष्टि गरिएको छ। चस्मा लगाएर गम्भीर मुद्रामा प्रस्तुत भएका उनी परिवारका लागि संघर्षरत एक जिम्मेवार बुवाको भूमिकामा देखिएका छन्।

उनीसँगै पोस्टरमा अभिनेत्री सुहाना थापा पनि देखिएकी छन्। सामान्य पहिरनमा गाउँतिर बोक्ने झोला बोकेर हिँडिरहेकी सुहाना ‘बा’की छोरीको भुमिकामा रहेको खुलाइएको छ। पोस्टरको पृष्ठभुमिमा देखिएको चार सदस्यीय परिवारको तस्बिरले परिवारको भावनात्मक सम्बन्ध र कथाको केन्द्र परिवार नै रहेको संकेत गर्छ ।

त्यसै गरी, घरको आँगनमा बाबु–आमा बसेको दृश्य, आकाशमा उडिरहेको विमान र छेउमा रहेको मोटरसाइकलले परिवारको कुनै सदस्य वैदेशिक रोजगार वा अध्ययनका लागि विदेश गएको हुनसक्ने अनुमान गर्न सकिन्छ। पोस्टरको समग्र प्रस्तुति मध्यम वर्गीय नेपाली परिवारको जीवनशैलीसँग जोडिएको देखिन्छ ।

पोस्टरमा देखिएको अर्को महत्त्वपुर्ण पक्ष भनेको झरना थापा र सुहाना थापा चलचित्रमा आमा–छोरीको भूमिकामा रहेको संकेत हो । झरना थापा दिव्य देवको अपोजिटमा देखिएकी छन्, जसले पारिवारिक कथालाई अझ भावनात्मक बनाउने अपेक्षा गरिएको छ ।

पृष्ठभूमिमा देखिएको जग्गाधनी पुर्जा (लालपुर्जा) र सरकारी छापले सन्तानको भविष्य निर्माण गर्न घरजग्गा धितो राख्न बाध्य हुने नेपाली बुवाको यथार्थ कथा चलचित्रले प्रस्तुत गर्ने संकेत दिएको छ । एउटै पोस्टरमार्फत चलचित्रको सामाजिक सन्देश, पारिवारिक संघर्ष र भावनात्मक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ ।

चलचित्रले नेपाली समाजमा सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष, जिम्मेवारी र जीवनभर सामना गर्ने चुनौतीहरूको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भुमिकामा रहेका छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कोलोराडो निवासी वसन्त लम्साल हुन्। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक हरि लम्सालले नै तयार गरेका हुन् । शिवराम श्रेष्ठ छायांकनमा रहेका चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् ।

कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन (भाद्र १९ अर्थात् सेप्टेम्बर ४, २०२६) को पुर्वसन्ध्यामा प्रदर्शनमा आउने यस चलचित्रको नेपालभित्रको वितरण कुवेर सिने डिस्ट्रिब्युसन मार्फत आशिष एच. तामाङ र प्रदीप धामी ले गर्नेछन् । निर्माण पक्षले चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनका लागि विभिन्न देशका व्यावसायिक वितरकहरूसँग पनि छलफल भइरहेको जनाएको छ । यदि तपाईँ आफ्नो देशमा चलचित्र ‘बा: एक योद्धा’ प्रदर्शन गर्न इच्छुक हुनुहुन्छ भने कृपया निर्माण पक्षसँग सम्पर्क गर्नुहोस्।

  • सम्बन्धित विषय:
    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend