बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

आश्रममा रहेका ५२ सुकुम्वासी बालबालिकालाई विद्यालय भर्ना गरियो

आश्रममा रहेका ५२ सुकुम्वासी बालबालिकालाई विद्यालय भर्ना गरियो

32
Shares
32
Shares

काठमाडौँ । राधास्वामी सत्संग व्यास आश्रममा आश्रय लिइरहेका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन् । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले अभिभावक र बालबालिकासँग परामर्श गरी उनीहरूको रुचि तथा आवश्यकता पहिचान गरेपछि वडा नं १४ स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए।

नदी किनारामा अव्यवस्थित बसोबास हटाउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गललगायत स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना हाल आश्रममा बस्दै आएका छन्। तीमध्ये ६२ पुरुष, ८० महिला (तीन सुत्केरी र दुई गर्भवतीसहित) र ६१ बालबालिका रहेका छन्।

विद्यालय उमेरका ५२ बालबालिकामध्ये चार जनाले यस वर्ष एसइई दिएका छन्। उनीहरूले कम्प्युटर, सिलाई बुनाइजस्ता सिप सिक्न इच्छा व्यक्त गरेका छन् भने महानगरले त्यस्ता सिपमूलक तालिमको व्यवस्था गर्ने तयारी गरेको छ।

त्यस्तै, ३० जना विद्यार्थीका अभिभावकले छात्रावासमा राखेर पढाउन चाहना देखाएका छन्। इच्छुकमध्ये ११ छात्रा र १९ छात्र रहेका छन्। विद्यार्थीका लागि आवश्यक पोसाक र शैक्षिक सामग्रीको व्यवस्थाबारे पनि तयारी भइरहेको जनाइएको छ।

यसैबिच, महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्याब्सन र एनप्याब्सनसँग छलफल गर्दै आश्रममा रहेका बालबालिकालाई संस्थागत विद्यालयमा आवाससहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend