मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

स्वास्थ्यकर्मी सरुवामा विवाद : डा. बृजेन्द्र साहको विषयले मधेसमा बहस चर्कियो

स्वास्थ्यकर्मी सरुवामा विवाद : डा. बृजेन्द्र साहको विषयले मधेसमा बहस चर्कियो

75
Shares
75
Shares

जनकपुरधाम । मधेस प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय द्वारा गरिएको एक स्वास्थ्यकर्मीको सरुवा निर्णय यतिबेला विवादमा तानिएको छ ।

मन्त्रालयको निर्णयअनुसार जनरल हेल्थ सर्भिस अन्तर्गत आठौँ तहका मेडिकल अधिकृत डा. बृजेन्द्र कुमार साह लाई सिराहाको लहानस्थित राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालबाट सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा सरुवा गरिएको हो ।

तर, स्रोतका अनुसार सरुवा निर्णयपछि पनि डा. साह लहानमै बस्न प्रयासरत रहेको चर्चा छ। उनी जनकपुरधाम पुगेर मन्त्रालयसँग पुनः सोही अस्पतालमा कार्यरत रहने वातावरण मिलाउन पहल गरिरहेको बताइएको छ । यस विषयमा आर्थिक चलखेलसम्बन्धी आरोपसमेत सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

यस विषयमा मधेस प्रदेशका स्वास्थ्य मन्त्री जङिलाल राय यादव ले सरुवा गरिएको पुष्टि गर्दै लहान क्षेत्रका नागरिकको आवश्यकता र मागलाई समेत विचार गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । उनले सरुवाको कारणबारे प्रशासनसँग बुझेर थप स्पष्ट पार्ने उल्लेख गरे ।

यता मन्त्रालयका सचिव डा. प्रमोद यादव ले भने सरुवा निर्णय अनिवार्य रूपमा कार्यान्वयन हुनुपर्ने अडान राखेका छन् । “सरुवा भएपछि तोकिएको स्थानमा जानैपर्छ, नगएमा सम्बन्धित कर्मचारी स्वयं जिम्मेवार हुन्छन्,” उनले भने। साथै, पैसाको आधारमा निर्णय हुने भन्ने आरोप निराधार रहेको उनको दाबी छ ।

प्रचलित नियमअनुसार सरुवा भएको मितिबाट २१ दिनभित्र नयाँ कार्यस्थलमा हाजिर हुनुपर्ने व्यवस्था छ । तोकिएको समयभित्र हाजिर नभएमा विभागीय कारबाहीसहित अन्य कानुनी प्रक्रिया अघि बढ्न सक्ने प्रावधान छ ।

उता लहानका केही स्थानीय बासिन्दाले भने डा. साहमाथि अस्पतालमा पर्याप्त समय नदिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार उनी निजी क्लिनिकमा बढी व्यस्त रहने हुँदा सरकारी अस्पतालको सेवा प्रभावित भएको गुनासो छ ।

सरुवा निर्णय कार्यान्वयन हुन्छ वा पुनः परिवर्तन गरिन्छ भन्ने विषयले यतिबेला स्थानीय तहमा चासो र बहस दुवै बढाएको छ ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend