बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठद्वारा बाल्टिमोरमा एकताको बलियो सन्देश, नेपाललाई समृद्ध बनाउन आह्वान

एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठद्वारा बाल्टिमोरमा एकताको बलियो सन्देश, नेपाललाई समृद्ध बनाउन आह्वान

गैर आवासीय नेपाली संघका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

163
Shares
163
Shares

बाल्टिमोर, अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएलाई एकताबद्ध गर्दै नेपालमा समृद्धिको अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रवार बाल्टिमोरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले एनआरएनएको विगतको विभाजनप्रति चिन्ता व्यक्त गरे। उनले अबको यात्रा ‘समावेशी एकता र संस्थागत सुधार’ तर्फ केन्द्रित हुने बताए।

एनआरएनए एनसीसी अमेरिकाद्वारा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल समृद्ध बनोस् भन्ने डायस्पोराको चाहना रहेको र नेपालले पनि त्यही अपेक्षा राखेको बताए। “त्यसका लागि हामी ठुलो फन्डको तयारीमा छौँ र एनआरएनए ऐनमा सुधार ल्याउन पहल गरी रहेका छौँ,” उनले भने ।

अध्यक्ष श्रेष्ठले विगतमा एनआरएनएप्रति नकारात्मक धारणा बनेको स्वीकार गर्दै यसको मुख्य कारण सङ्गठनभित्रको विभाजन रहेको बताए। “झगडा मात्र गर्ने संस्था भन्ने छवि बनेको छ। त्यसैले आवाज सुन्ने निकायहरूमा हाम्रो प्रभाव कमजोर भएको हो।”

श्रेष्ठले एकता प्रक्रियाको सन्दर्भमा मे महिनामा अध्यक्ष बन्ने निर्णयबारे स्पष्ट गर्दै भने, “त्यति बेला म अध्यक्ष बन्न तयार थिइनँ, तर सबै मिल्ने प्रस्ताव भएपछि म तयार भएँ, उनले भने।
उनले संस्थाको एकताका लागि आवश्यक परे आफू पद त्याग गर्न तयार रहेको प्रस्ताव गरे पनि अर्कोतर्फबाट कुनै लचकता नदेखिएको बताए । उनले एमआइस (MIS) प्रणालीलाई लिएर जारी विवाद समाधानका लागि स्वतन्त्र समिति बनाउने प्रस्तावसमेत अस्वीकृत भएको बताए।

अमेरिकाबाट एकताको सन्देश
एनआरएनए आइसिसीका उपाध्यक्ष बुद्धि सागर सुवेदीले एकताको विकल्प नरहेको भन्दै सहकार्यको अपिल गरे। उनले उपाध्यक्ष सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको मान्यतासहितको निर्वाचित नेतृत्व भएकाले विवाद गर्न आवश्यक नरहेको बताए। महासचिव बीआर लामाले विभाजन अन्त्य गर्न वार्ता गरिरहेको बताए। “हामी अक्टोबरसम्म कार्यकाल दिन तयार भयौँ, तर हाम्रो प्रस्ताव स्वीकार भएन,” उनले भने।

एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष डा. केशव पौडेलले एनआरएनएको नेतृत्व एजेन्डामा केन्द्रित हुनु आवश्यक रहेको बताए।

कार्यक्रममा मेरिल्यान्ड च्याप्टर अध्यक्ष कुल गुरुङले संस्थाको हितका लागि सबै एक ठाउँमा आउनुपर्ने बताए। “हामी दोधारमा छौँ, सदस्यता बनाउन समेत गाह्रो छ, अब एकताको सन्देश दिनुपर्छ,” उनले भने।
एनआरएनए अमेरिका अध्यक्ष डा अर्जुन बन्जाडेले कार्यक्रममार्फत धेरैको अन्योल हटेको बताए। “महेश दाइको नेतृत्वमा सुरु भएको एकता अभियान उत्साहजनक छ । एनआरएनए अमेरिकालाई एक बनाएर लैजान हामी प्रतिबद्ध छौँ,” उनले भने।

त्यस्तै, एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालले विगत ४–५ वर्षको विवाद हटेर एकताको सुरुआत भएको’ टिप्पणी गरे। अब हामी नागरिकता र लगानीजस्ता विषयमा केन्द्रित हुनुपर्छ,” उनले भने।
यस अघि टेक्सस राज्यको ड्यालस सहरमा पनि अध्यक्ष श्रेष्ठको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत
वासिङ्टन डिसी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन रेग्मीले स्वागत गरेका छन् । शुक्रवार वासिङ्टन डिसीमा आयोजित कार्यक्रममा राजदूत रेग्मीले अध्यक्ष श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै एनआरएनएको विश्वव्यापी सञ्जाल र यसले प्रवासी नेपालीहरूको हितमा पु-याएको योगदानको प्रशंसा गरे ।

राजदूत रेग्मीले एनआरएनएले नेपाल र नेपाली डायस्पोराबिचको सम्बन्धलाई सुदृढ गर्न खेलेको भूमिकाको कदर गर्दै अध्यक्ष श्रेष्ठको नेतृत्वमा संघले थप उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले नेपाली दूतावासको आतिथ्यप्रति आभार प्रकट गर्दै एनआरएनएको हालै मे ३–४, २०२५ मा काठमाडौँमा सम्पन्न एकता महाधिवेशनबाट आफ्नो नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको वैधानिकता र परराष्ट्र मन्त्रालयले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

उनले भने, ‘हाम्रो उद्देश्य प्रवासी नेपालीहरूको हकहित संरक्षण गर्नुका साथै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पु¥याउनु हो ।’ सो अवसरमा नेपाली समुदायका अगुवाहरू, एनआरएनएका पदाधिकारीहरू र दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठले अमेरिकास्थित नेपाली समुदायलाई एकजुट भएर नेपालको विकासमा थप योगदान गर्न आह्वान गरे । नेपालको कूटनीतिक नियोग र एनआरएनएबिचको सहकार्यले भविष्यमा थप सकारात्मक परिणामहरू ल्याउने विश्वास व्यक्त गरे ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend