इजरायल र इरानबिच विकसित पछिल्लो घटनाका बिच इजरायलमा रहेका नेपालीको अवस्था मूल्यांकनका लागि गैरअवासीय नेपाली संघले त्यहाँस्थित नेपालीहरूसँग अन्तरक्रिया गरेको छ। त्यहाँस्थित दूतावासका राजदूतसहितको उपस्थितिमा बुधवार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तर्क्रियाका क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलमा निकै संवेदनशील अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले इजरायलको अवस्था पहिलेका युद्धको समयमा भन्दा संवेदनशील छ, तर तोकिएका सुरक्षाका मापदण्ड अवलम्बन गर्दा त्यति असुरक्षा छैन त्यसलाई चाहिँ मान्नुपर्यो लापरबाही गर्नुभएन । ’उहाँले इजरायल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्डको पालना गर्न र सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा नकारात्मक सामग्री पोस्ट नगर्न पनि अनुरोध गर्नुभयो ।
उहाँले नेपाल फर्कन चाहने हो भने परराष्ट्र मन्त्रालयले जारी गरेको फारम भर्न पनि अनुरोध गर्नुभयो ।
यस्तै एनसीसी इजरायलका महासचिव अलि मोहम्मद मियाले इजरायली सरकारले निर्धारण गरेको सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न सुझाव दिनुभएको छ। उहाँका अनुसार हाल गाडी, पसल लगायत सबै सेवा खुल्ला छन् र सामान्य सुविधा उपलब्ध छन्, तर युद्धको अनिश्चितताबिच सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
यस्तै त्यहाँस्थित नेपाली महामहिम राजदूत धनप्रसाद पण्डितले इजरेल सरकारले भनेको र तोकेको सुरक्षाको मापदण्ड अपनाउन, सेल्टरमा बस्न आग्रह गर्नुभयो । नेपाल फर्कन चाहने नेपालीलाई परराष्ट्र मन्त्रालयले खुला गरेको फाराम भर्न सुझाउँदै उहाँले हालसम्म खासै कसैले तत्काल उद्धारका लागि अनुरोध नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म कसैले तत्काल उद्धार गर्न भनेका छैनन् तर विराटनगरका मेयर ज्यू र एक नेपाली चिकित्सकको लागि प्रक्रियागत काम हामीले गरेका छौँ, भने केही अन्डकुमेन्टेड नेपालीले आफूहरु फर्कन चाहेको बताएका छन् । त्यसैले अब जसले फर्कन चाहन्छन् उनीहरूलाई फर्काउन हामीलाई पहल गर्न सहज होस् भनेर दूतावासले पनि फारम भराउन सुरु गरेको हो । त्यो फाराम भर्न म सबैलाई आग्रह गर्छु ।’उहाँले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अन्तरक्रियाका क्रममा इजरायलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले आफ्नो अवस्थाबारे जानकारी गराउँदै तत्काल नेपाल आइहाल्ने मनस्थिति नरहेको बताएका थिए । यस्तै संघका केन्द्रीय महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणीन्द्र पन्त लगायतका पदाधिकारीले पनि आवश्यक सहयोगको प्रतिबद्धतासहित सुरक्षित रहन आग्रह गर्नुभयो ।यस्तै अन्य केन्द्रीय पदाधिकारीहरुले पनि आफ्नो धारणा राख्नुभएको थियो । इजरायलस्थित नेपालीको जानकारी लिन सचिवालयमा हटलाइन सेवा समेत सुरु गर्ने तयारी गरिएको छ ।उक्त कार्यक्रमको सहजीकरण सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले गर्नुभएको थियो ।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend