सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

भोटेकोशी बाढीपछि उद्धार जारी, ज्येष्ठ नागरिकलाई सुरक्षित आश्रय र स्वास्थ्य सेवा

भोटेकोशी बाढीपछि उद्धार जारी, ज्येष्ठ नागरिकलाई सुरक्षित आश्रय र स्वास्थ्य सेवा

32
Shares
32
Shares

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रधानमन्त्री बालेनले बताएका छन्। उनका अनुसार नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीय चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको छ।

प्रधानमन्त्रीले श्रेष्ठको उद्धारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर भइरहेको सन्देश दिएको बताएका छन्। यसअघि पनि ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका धेरै नागरिकलाई प्रभावित क्षेत्रबाट उद्धार गरिएको उनले उल्लेख गरेका छन्।

बाढीका क्रममा वृद्धवृद्धासहित धेरै नागरिकले ज्यान जोगाउन कठिन परिस्थितिको सामना गर्नुपरेको प्रधानमन्त्रीको भनाइ छ। कतिपयले आफ्ना नातिनातिना च्यापेर सुरक्षित स्थानतर्फ भाग्नुपरेको तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसमेत विस्थापित हुनुपरेको उनले बताएका छन्।

भोटेकोशीको बाढीले घर, खेतबारी, पशुचौपाया तथा जीवनभरको कमाइ गुमाउने अवस्था सिर्जना गरेको भन्दै प्रधानमन्त्रीले प्रभावित ज्येष्ठ नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्। बाढीमा आफ्नै परिवारका सदस्य तथा जीवनसाथी गुमाएका वृद्धवृद्धाको पीडा झनै गम्भीर रहेको उनको भनाइ छ।

नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवनसमेत बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौँको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्ण प्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

उहाँहरूका लागि ह्वीलचेयर तथा वाकरको व्यवस्था गर्नुका साथै नियमित स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको जनाइएको छ। अस्थायी शिविरमा बसाइलाई सकेसम्म छोटो बनाएर प्रभावित नागरिकलाई छिटो सुरक्षित स्थायी बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नठान्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन्। उनले ज्येष्ठ नागरिकलाई देशका आधार स्तम्भ र मार्गदर्शकका रूपमा सम्मान गर्दै कठिन परिस्थितिमा मनोबल बलियो बनाउन आग्रह गरेका छन्।

बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति प्रधानमन्त्रीले सामूहिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको उल्लेख गर्दै उनले पीडितको भावनालाई संयमतापूर्वक बुझ्नुपर्ने बताएका छन्। पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिने प्रयास गर्नेहरूप्रति सरकार कठोर हुने चेतावनीसमेत दिएका छन्।

यसैबिच, बाढीपछि प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिम मोलेर खोज तथा उद्धार कार्य जारी राखेका छन्। दलदल र भग्नावशेष बनेका क्षेत्रमा समेत सुरक्षाकर्मीहरू निरन्तर खोजीमा खटिएको भन्दै प्रधानमन्त्रीले उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले बाढी प्रभावित नागरिकलाई सरकारमाथि भरोसा राख्न आग्रह गर्दै कठिन परिस्थितिमा राज्यले उनीहरूलाई साथ नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend