सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

अमेरिकाभर आईसीई (ICE)को कारबाही कडा, विमानस्थलमा पनि निगरानी बढ्यो

अमेरिकाभर आईसीई (ICE)को कारबाही कडा, विमानस्थलमा पनि निगरानी बढ्यो

140
Shares
140
Shares

कोलोराडो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासन नियन्त्रण अभियानलाई थप कडा बनाउँदै देशभर र प्रमुख विमानस्थलहरूमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (ICE) को परिचालन बढाएको छ ।

विभिन्न सञ्चारमाध्यमका अनुसार, कम्तीमा १५ वटा विमानस्थलमा आईसीई अधिकारीहरू खटाइएका छन् । यातायात सुरक्षा प्रशासन (TSA) सँग भएको नयाँ सहमतिपछि दुवै निकायले यात्रुसम्बन्धी जानकारी आदान–प्रदान गर्न थालेका छन् । यस अभियान सुरु भएयता कम्तीमा २७ जना पक्राउ परिसकेको बताइएको छ ।

नयाँ व्यवस्थाले भिसाको अवधि सकिएपछि पनि अमेरिकामा बसिरहेका व्यक्तिहरूलाई पहिचान गर्न सजिलो भएको छ। अमेरिकी गृह सुरक्षा विभाग (DHS) ले अब यस्ता व्यक्तिलाई देशभित्र यात्रा गर्न दिइने पुरानो व्यवस्था अन्त्य गरेको जनाएको छ। विभागका अनुसार, उनीहरूलाई अब अमेरिका छाड्ने उडानमा मात्र यात्रा गर्न अनुमति हुनेछ ।

अमेरिकी कानुनअनुसार भिसाको अवधि सकिएपछि पनि बसिरहने व्यक्ति तत्काल निष्कासन (डिपोर्ट) गर्न मिल्ने श्रेणीमा पर्छन् । ट्रम्प प्रशासनले आधुनिक अमेरिकी इतिहासकै सबैभन्दा ठुलो निष्कासन अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

यसैबिच, बाल्टिमोरस्थित Johns Hopkins University का एक अनुसन्धानकर्ता भिसा अवधि नाघेको आरोपमा पक्राउ परेका छन् ।

ट्रम्प प्रशासनले असाइलम सम्बन्धी प्रक्रियामा पनि परिवर्तन गरेको छ । नयाँ नियमअनुसार, केही असाइलम आवेदन अन्तर्वार्ता नगरी नै सिधै अध्यागमन न्यायाधीशसमक्ष पठाउन सकिनेछ । प्रशासनले यसबाट वर्षौँदेखिको मुद्दाको चाप कम हुने जनाएको छ भने आलोचकहरूले यसले आवेदकको कानुनी अधिकार कमजोर बनाउने बताएका छन् ।

यसैबिच, Migration Policy Institute (MPI) को नयाँ अध्ययनले सन् २०२४ मा अमेरिकामा कागजातविहीन आप्रवासीको संख्या १ करोड ५८ लाख पुगेको देखाएको छ, जुन अहिलेसम्मकै उच्च संख्या हो । अध्ययनले सन् २०१९ देखि २०२४ सम्म करिब ५० लाख कागजातविहीन आप्रवासी अमेरिकामै रहेको जनाएको छ ।

एमपीआईका अधिकारी जुलिया जेलाटका अनुसार धेरै आप्रवासी कानुनी प्रक्रिया पूरा गर्ने प्रयास गरिरहेका भए पनि लामो प्रतीक्षा र ढिलाइका कारण उनीहरू अनिश्चित अवस्थामा रहेका छन्। उनले अमेरिकी अध्यागमन कानुनमा व्यापक सुधार आवश्यक रहेको बताएकी छन् ।

Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend