सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) को ब्रोड पिकमा निधन

विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) को ब्रोड पिकमा निधन

94
Shares
94
Shares

काठमाडौं । विश्व प्रसिद्ध नेपाली पर्वतारोही तथा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा निधन भएको पुष्टि भएको छ। उनको संस्थापक संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको औपचारिक जानकारी दिएको हो ।

पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक मा गत बिहीबार मध्याह्न गएको भीषण हिमपहिरोमा पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए । तीमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। खोज तथा उद्धार अभियानका क्रममा शुक्रवार चार जनाको शव फेला परेको थियो भने पछिल्लो जानकारीअनुसार निर्मल पुर्जाको पनि निधन भएको पुष्टि भएको हो ।

उक्त आरोहण अभियानमा निर्मल पुर्जा टोलीका नेता थिए। हिमपहिरोपछि प्रतिकुल मौसम, अत्यधिक उचाइ र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्य निकै चुनौतीपुर्ण बनेको थियो ।

निर्मल पुर्जा नेपाली पर्वतारोहण इतिहासका सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्थे । उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। यस उपलब्धिले उनलाई अन्तर्राष्ट्रिय स्तरमा असाधारण पर्वतारोहीका रूपमा स्थापित गरेको थियो।

बेलायती सेनाका पूर्व गोर्खा सैनिक रहेका पुर्जाले सैनिक जीवन त्यागेर पूर्णकालीन पर्वतारोहणलाई आफ्नो लक्ष्य बनाएका थिए । साहस, दृढता र असम्भवजस्ता चुनौतीलाई सम्भव बनाउने क्षमताका कारण उनी विश्वभरका पर्वतारोहीका लागि प्रेरणाका स्रोत बने । उनले आफ्नो पर्वतारोहण यात्रामा ८ हजार मिटरभन्दा अग्ला हिमालका शिखर ५७ पटक सफलतापुर्वक आरोहण गरिसकेका थिए ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक प्राविधिक रूपमा अत्यन्त कठिन र जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ। यस हिमालमा भएको हिमपहिरोले नेपाली तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ ।

निर्मल पुर्जाको निधनसँगै नेपालले विश्व पर्वतारोहण क्षेत्रमा अद्वितीय योगदान दिएका एक साहसी, प्रेरणादायी र कीर्तिमानी आरोही गुमाएको छ। उनका साहसिक उपलब्धि र पर्वतारोहणप्रतिको समर्पण सधैँ स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend