मायामि । फिफा विश्वकप २०२६ मा खेल सञ्चालन गर्न छानिएका सोमालियाका चर्चित रेफ्री ओमार अब्दुलकर आर्तार (Omar Abdulkadir Artan) लाई अमेरिकाले देश भित्रिन रोक लगाएको छ। योसँगै उनले यस पटकको विश्वकप गुमाउने भएका छन्। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (FIFA) ले सोमबार यस कुराको पुष्टि गरेको हो।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा (CBP) का प्रवक्ताका अनुसार, इस्तानबुलबाट उडेर मियामी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका आर्तारलाई थप विशेष जाँच (Additional Inspection) गरिएको थियो। जाँचपछि “सुरक्षा छानबिन र प्रमाणीकरणसम्बन्धी चासो” (Vetting Concerns) देखाउँदै उनलाई अमेरिका प्रवेशका लागि अयोग्य घोषित गरी फिर्ता पठाइएको हो।
सन् २०२५ मा अफ्रिकाकै सर्वोत्कृष्ट पुरुष रेफ्री घोषित भएका आर्तार सोमालियाको इतिहासमै विश्वकपका लागि छनोट हुने पहिलो रेफ्री हुन्। उनीसँग अमेरिकाको वैध भिसा (Valid Visa) हुँदाहुँदै पनि विमानस्थलबाटै फर्काइएको सोमालियाको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। हाल उनी इस्तानबुल फर्किसकेका छन्।
ट्रम्प प्रशासनले केही समयअघि कतिपय देशहरूमाथि लगाएको यात्रा प्रतिबन्ध (Travel Ban) को सूचीमा सोमालिया पनि परेकाले त्यहाँका नागरिकहरूलाई अमेरिका प्रवेशमा कडा जाँच गर्ने गरिएको छ। यद्यपि विश्वकपका खेलाडी र खेल अधिकारीहरूलाई यसमा केही छुट दिने भनिए पनि सीमा सुरक्षा अधिकारीहरूले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै प्रवेश रोक्न सक्ने अधिकार प्रयोग गरेका हुन्।
यस विषयमा फिफाले आफू आयोजक राष्ट्रको अध्यागमन प्रक्रिया र भिसाको निर्णयमा संलग्न नहुने स्पष्ट पारेको छ। फिफाका प्रवक्ताले भनेका छन्, “कुनै पनि देशमा कसलाई प्रवेश दिने भन्ने अन्तिम निर्णय त्यहाँकै सरकारको हुन्छ। अमेरिकी अधिकारीहरूले आर्तारको स्थितिमा तत्काल कुनै परिवर्तन नहुने जानकारी गराएका छन्।”
सोमालिया सरकारका खेलकुद सल्लाहकार तथा पूर्व राष्ट्रिय कप्तान सिसे एडेन अबशिरले यस निर्णयको कडा आलोचना गरेका छन्। उनले भनेका छन्, “आर्तार अफ्रिकाकै सम्मानित रेफ्री हुन्। उनलाई यसरी रोक्नुले फुटबलको निष्पक्षता, योग्यता र खेल भावनाको खिल्ली उडाएको छ।”
यसअघि इरानका फुटबल अधिकारी र सहयोगी टोलीका केही सदस्यहरूलाई पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि विश्वकपको सन्दर्भमा अमेरिकी अध्यागमन नीतिलाई लिएर विवाद बढिरहेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend