बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

कुष्ठरोग: औषधिले जितेको तर निर्मूलीकरण नभएको रोग

कुष्ठरोग: औषधिले जितेको तर निर्मूलीकरण नभएको रोग

61
Shares
61
Shares

काठमाडौं । आज विश्व कुष्ठरोग दिवस । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो ।

सन् १८७३ मा नर्वेका वैज्ञानिक डा.जीए ह्यानसनले पहिलोपटक कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनेर पत्ता लगाएका थिए । प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । यो दिवस केवल एउटा स्वास्थ्यसम्बन्धी स्मरण दिवस मात्र होइन, समाजको ऐनामा आफैंलाई हेर्ने दिन पनि हो ।

चिकित्सा विज्ञानले कुष्ठरोगलाई पूर्ण रूपमा निको हुने रोग प्रमाणित गरिसकेको दशकौँ भइसक्यो । कुष्ठरोगको लागि निःशुल्क औषधि उपलब्ध छन्, सरल उपचार पनि छ र समयमै उपचार भयो भने जटिल रोग पनि होइन् ,तर यथार्थ के हो भने कुष्ठरोग आज पनि औषधिभन्दा डरका कारण फैलिरहेको छ ।

समयमै उपचार पाए कुष्ठरोग कुनै अभिशाप होइन, तर दुःखद कुरा के छ भने रोगभन्दा पनि रोगसँग जोडिएको सामाजिक कलंक अझै जीवित छ ।

कुष्ठरोगसँग जोडिएको सामाजिक कलंक नेपालजस्तो समाजमा अझै गहिरो छ । रोगीलाई छुट्टै राख्ने, घर–परिवारबाट टाढा पार्ने, रोजगारी र सामाजिक सम्बन्धबाट वन्चित गर्ने प्रवृत्ति अझै विद्यमान छ । रोगभन्दा बढी पीडा यही बहिष्कारले दिएको छ । यही कारणले धेरै मानिसहरू लक्षण देखिँदासमेत उपचारका लागि स्वास्थ्य संस्थामा जान डराउँछन् ।

नेपालले सन् २०१० मै कुष्ठरोग नियन्त्रणको राष्ट्रिय लक्ष्य हासिल गरेको घोषणा गरिसकेको छ,तर नियन्त्रण र अन्त्य एउटै कुरा होइनन् । अझैपनि प्रत्येक वर्ष नयाँ केसहरू देखिनु, बालबालिकामा संक्रमण भेटिनु र केही जिल्लाहरू उच्च जोखिममा रहनु चिन्ताको विषय हो । यसले देखाउँछ ‘समस्या औषधिको अभाव होइन, सचेतनाको कमजोरी हो ।’

कुष्ठरोगको नाम सुन्नासाथ समाजमा डर, तिरस्कारको भावना पैदा हुने गरेको छ । यही डर र गलत बुझाइका कारण धेरै संक्रमित व्यक्ति समयमै स्वास्थ्य संस्थामा पुग्दैनन् । ढिलो उपचारले शारीरिक अपाङ्गता मात्र होइन, मानसिक पीडा र सामाजिक बहिष्कारलाई पनि जन्म दिएको छ ।

कुष्ठरोग ब्याक्टेरियाबाट सर्ने संक्रमण हो, जुन छाला र स्नायुमा असर गर्छ । यो वंशानुगत होइन, न त साधारण सम्पर्कबाट सजिलै सर्छ । तर समाजमा फैलिएको गलत बुझाइले रोगीलाई अपराधीजस्तै व्यवहार गरिन्छ । यही व्यवहार मानवअधिकारको प्रत्यक्ष उल्लङ्घन पनि हो ।
विश्व स्वास्थ्य संगठनले यस वर्षको सन्देशमार्फत भनेको छ, वास्तविक शत्रु रोग होइन, सोच हो । जबसम्म हामी सोच परिवर्तन गर्न सक्दैनौँ, तबसम्म स्वास्थ्य प्रणाली जति बलियो भएपनि कुष्ठरोगको अन्त्य सम्भव हुँदैन।

विश्व स्वास्थ्य संगठनले भनेझैँ, ‘कुष्ठरोग निको हुन्छ, वास्तविक चुनौती भनेको कलंक हो ।’ जबसम्म हामी समाजमा व्याप्त भेदभाव र डर हटाउन सक्दैनौँ, तबसम्म कुष्ठरोगविरुद्धको लडाईंमा सफलता पाउन सकिँदैन् । के हामी रोगीलाई रोगको आधारमा हेर्छौँ, कि मानवको रूपमा स्वीकार गर्छौँ ? यो प्रश्न गम्भीर रुपमा खडा भएको छ ।
संक्रमित व्यक्तिलाई सहानुभूति, सम्मान र समान व्यवहार दिनु नै कुष्ठरोगमुक्त समाज निर्माणको आधार हो। कुष्ठरोग उपचारले होइन, अपहेलना,तिरस्कार र गरिने नराम्रो व्यवहार अन्त्य गरेर मात्र वास्तवमै समाप्त हुन्छ। कुष्ठरोगमुक्त नेपाल केवल स्वास्थ्य उपलब्धिले होइन, कलंकमुक्त समाज निर्माण गरेर मात्र सम्भव छ ।

हुनत, नेपालले सन् २०१० मा कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरेपनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ सङ्क्रमित देखिने गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार २०८१÷८२ सालमा मात्रै नयाँ कुष्ठरोगीको संख्या दुई हजार ४०९ रहेको छ ।

तथ्याङ्कले पनि नेपालमा कुष्ठरोग बढिरहेको देखाउँछ । १६ जिल्ला कुष्ठरोगबाट बढी प्रभावित रहेको त्यहाँ प्रति १० हजारमा एक जनाभन्दा बढी सङ्क्रमित रहेको पाइन्छ ।
मधेश प्रदेशमा अझै पनि कुष्ठरोग निवारण हुन सकेको छैन । प्रदेशमा कुल ८५७ जना नयाँ कुष्ठरोगी थपिएका छन् । यो सबै तथ्यांक हेर्दा सरकारले निर्मूलीकरण अझै धेरै काम गर्नुपर्ने देखिएको छ ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend