कोलोराडो । नयाँ तथ्याङ्क अनुसार, सन् २०२४ को तुलनामा गत वर्ष कोलोराडोका सडकहरूमा ज्यान गुमाउनेको संख्या बढेको छ। विशेष गरी मादक पदार्थ सेवन गरी सवारी चलाउँदा (Impaired Driving), साइकल यात्री र पैदल यात्रीहरूको मृत्यु हुने दरमा वृद्धि भएको देखिएको छ।
गत वर्ष कोलोराडोका सडकहरूमा ७०१ जनाको मृत्यु भयो, जुन २०२४ को ६८९ को तुलनामा बढी हो। सन् २०२२ मा चार दशकयताकै सबैभन्दा बढी सडक मृत्युदर रेकर्ड भएपछि लगातार घटिरहेको यो संख्यामा यस पटक सामान्य वृद्धि देखिएको छ ।
प्रारम्भिक तथ्याङ्क अनुसार, गत वर्ष मारिएका व्यक्तिहरूमध्ये:
३९२ जना कार वा ट्रक भित्र सवार
१२६ जना पैदल यात्री
१८ जना साइकल यात्री
१४७ जना मोटरसाइकल चालक वा सवार
मादक पदार्थ सेवन गरी सवारी चलाउँदा २३४ जनाको मृत्यु भयो, जुन २०२४ को २१५ को तुलनामा बढी हो । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राज्यका यातायात अधिकारीहरूले यी मृत्युहरू रोक्न सकिने र खराब निर्णयका कारण भएका भन्दै सुरक्षा प्रयासहरूलाई पुनः केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
कोलोराडो स्टेट पेट्रोलका प्रमुख कर्नल म्याथ्यू प्याकार्डले भने, “सडक दुर्घटनामा हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने र अस्वीकार्य कुरा हो। मादक पदार्थ सेवन गरेर गाडी चलाउनु सबैभन्दा स्वार्थी काम हो। दुर्घटनामा करिब ३०% देखि ३५% मृत्यु यस्तै चालकका कारण भइरहेका छन्।”
अधिकारीहरूका अनुसार राज्यले सुरक्षाका उपायहरूलाई अझ सशक्त बनाउने योजना बनाएको छ। यसमा अटोमेटेड स्पिड प्रवर्तन क्यामेराहरू थप्ने र साइकल यात्री तथा पैदल यात्रीहरूको सुरक्षाका लागि भौतिक पूर्वाधार निर्माण गर्ने कार्यहरू समावेश छन्।
कोलोराडो यातायात विभाग (CDOT) की निर्देशक शोशाना लुले न्यानो मौसमका कारण पनि यो वर्ष सडकमा मानिसहरूको चहलपहल बढेको र यसले मृत्युदर बढाउन भुमिका खेलेको बताइन्। उनले “मुभ ओभर ल” (सडकको छेउमा रोकिएका सवारीका लागि ठाउँ छोड्ने वा गति कम गर्ने नियम) लाई पालना गर्न समेत आग्रह गरिन् ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend