मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

थाहा पाएर पनि गल्ती नसच्याउनु अर्को गल्ती

थाहा पाएर पनि गल्ती नसच्याउनु अर्को गल्ती

630
Shares
630
Shares

नेपाली कवितामा १९९१ देखि थालिएर क्रमशः विस्तारित आधुनिकताको विकासमा थुप्रै कविहरूको उल्लेख्य योगदान छ । यसरी योगदान पुर्‍याउने कविहरूमा गोपालप्रसाद रिमाल पनि हुन् । १९९२ मार्ग–पौष महिनाको ‘शारदा’ पत्रिकामा प्रकाशित ‘प्रति’ शीर्षक कविताका माध्यमबाट आफ्नो कवितायात्राको प्रारम्भ गर्ने रिमाल नेपाली कवितामा आधुनिक कालको थालनीकर्तामध्येका एक हुन् । यिनको ‘आमाको सपना’ (२०२०) शीर्षकको कवितासङ्ग्रह प्रकाशित छ । यिनको यस सङ्ग्र्रहलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘साहित्यकार परिचय र अभिव्यक्ति’ (२०५४), ‘साहित्यकार कलाकार परिचय कोश’ (२०७०) तथा साझा प्रकाशनबाट प्रकाशित ‘नेपाली कविता भाग १’ (२०४६) लगायत नेपाली साहित्यका विभिन्न इतिहासहरूमा पनि २०१९ सालमा प्रकाशित कृति भनी उल्लेख गरिएको पाइन्छ । यस पङ्क्तिकारले ‘नेपाली कविता र आख्यान’ (२०५७), ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) लगायतका विभिन्न पुस्तक, लेख तथा कार्यपत्रमा समेत यसको प्रकाशन २०२० सालमा भएको भनी प्रामाणिक रूपमा लेखिसकेपछि पनि आफूलाई महान् ठान्ने लेखक र आधिकारिक भनिएका संस्थाबाट प्रकाशित कृतिमा समेत २०१९ लेखिनु गैरजिम्मेवारपूर्ण कार्य हो ।

पाण्डुलिपिलाई पुरस्कार दिने प्रचलनबमोजिम रिमालको ‘आमाको सपना’ कवितासङ्ग्र्रहलाई २०१९ सालमा मदन पुरस्कार प्रदान गरिएको हो । पुरस्कार पाउनु र कृति प्रकाशन हुनु फरक कुरा हो । मदन पुरस्कार गुठीबाट प्रकाशित यस कृतिको पहिलो संस्करणमा २०२० साल नै लेखिएको छ । कुनै बेला कसैले भूलवश वा अन्य कारणले गल्ती गर्‍यो भन्दैमा यसलाई नसच्च्याइनु थप त्रुटि निम्त्याउनु हो । यसर्थ तथ्य फेला पारिसकेपछि पनि हेल्चेक्य्राइँ गरिनु उपयुक्त होइन ।

यसैगरी नेपाली कविताको इतिहासमा अहिलेसम्म सबैजसोले गोपालप्रसाद रिमाललाई नेपालीमा गद्यकविता लेखनको प्रारम्भकर्ता मानेका छन् । यससम्बन्धी केही भनाइ यस्ता छन्:

केशवप्रसाद उपाध्यायले “रिमालको ‘कविको गान’ मात्र होइन, ‘…प्रति’ भन्दा पनि अगि १९९२ को वैशाखमा नै देवकोटाको चार हरफे ‘प्रति’ निस्किसकेको देखिन्छ । (१९९२ साल वैशाखको ‘शारदा’ मा देवकोटाको ‘प्रति’ शीर्षक कविता छापिएकै छैन ।) … यसबाट देवकोटा गद्यमय कवित्वको आदिस्रष्टा सिद्ध भए पनि गद्यकविताका प्रवर्तक भने सिद्ध हुँदैनन् र निष्कर्षमा रिमाल नै गद्यकविताका प्रवर्तक हुन् भन्ने देखिन्छ” भनेका छन् ।

मोहनराज शर्माले “पहिलो नेपाल गद्यकविता’ का रूपमा १९९२ मा रिमालको ‘कविको गान’ प्रकाशित हुनु कविताको परम्परित रूप वा ढाँचामा ठूलो पहिरो जानु हो र त्यसले आफ्नै नवीन काव्यरूपका सूत्रपात गर्नु हो” भनेको पाइन्छ ।

लक्ष्मणप्रसाद गौतमले “१९९२ फागुन १६ को ‘गोरखापत्र’ मा प्रकाशित उनको ‘कविको गान’ शीर्षकको कवितालाई नेपाली कविता साहित्यको प्रथम सचेत गद्यकविताका रूपमा मानिन्छ र त्यसभन्दा एक डेढ महिनापूर्वको उनको ‘… प्रति’ शीर्षकको कविता १९९२ मार्ग–पौषको शारदामा प्रकाशित देखिन्छ तर त्यो गद्यकविता नभई गीतिकविता हो । …अर्कातिर १९९२ को वैशाख महिनाको शारदामा देवकोटाको ‘प्रति’ शीर्षक कविता प्रकाशित देखिन्छ (शारदाको यस अङ्कमा देवकोटाको कविता छापिएको छैन) । … रिमालकै पहिलो ‘… प्रति’ मा गीतिचेतना बढी देखिनु, देवकोटाको ‘प्रति’ मा सचेत गद्यकवितालेखनको स्पष्ट स्वरूप प्राप्त नहुनु र रिमालको कविता गान (कविको गान) मा सचेत गद्यकवितालेखनको अत्यन्तै अपारम्परिक शैलीको प्रयोग हुनुजस्ता सन्दर्भहरूबाट गोपालप्रसाद रिमालकै ‘कविको गान’ कवितालाई प्रथम सचेत गद्यकविताका रूपमा मान्नु युक्तिसङ्गत देखिन्छ” भनेका छन् ।

खगेन्द्रप्रसाद लुइटेलले पनि “१९९२ सालको शारदामा प्रकाशित ‘…प्रति’ शीर्षक कविताका माध्यमबाट आफ्नो कवितायात्राको प्रारम्भ गर्ने गोपालप्रसाद रिमाल नेपालीमा गद्यकविता लेखनका प्रारम्भकर्ता हुन्” भनेका छन् ।

यसरी कतिपयले रिमालको १९९२ मङ्सिर–पुसको शारदामा प्रकाशित ‘…प्रति’ शीर्षक कवितालाई र कतिपयले १९९२ फागुन १६ गतेको गोरखापत्रमा प्रकाशित ‘कविको गान’ शीर्षक कवितालाई नेपालीको पहिलो गद्यकविता भनेका र रिमालका यी दुवै कविता गद्यकविताकै ढाँचामा लेखिएको भए पनि यी दुवै नेपालीका प्रथम गद्यकविता नभएको स्थिति देखापरेको छ ।

१९९३ वैशाखको शारदामा तीन पङ्क्तिपुञ्जको एउटा बेनामे ‘प्रति’ र त्यही अङ्कमा देवकोटाको ‘बुलबुलको गाना’ शीर्षकका कविताको लगत्तैपछि तीन पङ्क्तिपुञ्जकै अर्काे बेनामे ‘प्रति’ शीर्षक कविता छापिएको छ । अगिल्लो ‘प्रति’ कसको भन्ने स्पष्ट नभए पनि पछिल्लो ‘प्रति’ चाहिं देवकोटाकै हुनसक्ने देखिन्छ । यी दुवैलाई देवकोटाकै कविता माने पनि यसबाट उनी नेपालीका प्रथम गद्यकवि प्रमाणित हुँदैनन् ।

गोपालप्रसाद रिमालभन्दा पहिले १९९२ सालको जेठको ‘शारदा’ मा भीमनिधि तिवारीको ‘मार्खुको छहरा’ शीर्षकको कविता प्रकाशित भएको पाइएकाले नेपाली कवितामा शास्त्रीय छन्दको बन्धनलाई तोडेर गद्यकविताको थालनी गर्ने पहिला कविका रूपमा रिमाललाई नभएर तिवारीलाई र उनको ‘मार्खुको छहरा’ लाई नेपालीको पहिलो गद्यकविता मान्नुपर्ने स्थिति देखिएको छ । गीतिकविताजस्तो लाग्ने यो कविता त्यति स्तरीय नभए पनि छन्दोबद्ध कविताका ढाँचाबाट भने मुक्त छ । यसपछि तिवारीले गद्यकविताका साथै छन्द कविता पनि प्रशस्त सिर्जना गरेका छन् भने रिमालले चाहिँ थोरै गद्यकविता मात्र सिर्जना गरेका छन् । नेपालीमा तिवारी, रिमाल, देवकोटा, समलगायतका थुप्रै कविहरूले प्रशस्त गद्यकविताको सिर्जना गरी नेपाली कवितालाई आधुनिकतातर्फ अगि बढाउने र त्यसको विकास गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पु¥याएको देखिए पनि गद्यकविताको थालनी गर्ने पहिला कवि भने गोपालप्रसाद रिमाल नभएर भीमनिधि तिवारी मान्नुपर्ने देखिन्छ । यसबाट गोपालप्रसाद रिमालको अवमूल्यन भएको ठानिनु हुन्न । पछि अन्य प्रामाणिक तथ्य आएमा त्यसलाई पनि स्वीकार गर्नुपर्छ । यो कुरा यस पङ्क्तिकारले भीमनिधि तिवारीको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०६९ असार १५ गते आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्रबाट प्रामाणिक रूपमा उल्लेख गरिसकेपछि पनि त्रुटि गरिरहनु उपयुक्त होइन ।

यस्तो स्थिति गोपालप्रसाद रिमालमा मात्र नभएर लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भैरव अर्यालजस्ता प्रसिद्ध स्रष्टाहरूबारे पनि रहेको छ । देवकोटाको पहिलो प्रकाशित कविता ‘पूर्णिमाको जलधि’ (गोरखापत्र, १९९१ मङ्सिर १५ गते) भन्ने जताततै उल्लेख गरिएको पाइए पनि यिनको पहिलो प्रकाशित कविता ‘पूर्णिमाको जलधि’ नभएर १९८५ साल वैशाख १८ र २५ गतेको गोरखापत्रमा क्रमशः प्रकाशित ‘वसन्त षोडशी’ हो ।

सिद्धिचरण श्रेष्ठको पहिलो प्रकाशित कविता १९९० सालको गोरखापत्रमा प्रकाशित ‘भुइँचालो’ भएको कुरा जोसुकैले जताततै उल्लेख गरेको पाइए पनि त्यस सालको गोरखापत्रमा यस शीर्षकको कविता छापिएकै छैन । यिनका कविताको त के कुरा १९९० सालको गोरखापत्रमा कुनै पनि साहित्यिक रचना नै छापिएका छैनन् । १९९१ साल वैशाख ४ गतेको गोरखापत्रमा ‘सिद्धि’ नामबाट ‘भूकम्प–पीडितोद्धारक ऋण–संस्था’ शीर्षक कविता छापिएको छ । १९९१ साल वैशाखकै शारदाको पहिलो अङ्कमा यिनको ‘जुनेली रातमा निर्झर’ शीर्षकको कविता छापिएको भए पनि शारदा मासिक पत्रिका भएकाले वैशाख सुरुतिरकै गोरखापत्रमा प्रकाशित ‘भूकम्प–पीडितोद्धारक ऋण–संस्था’ शीर्षक कवितालाई नै यिनको पहिलो कविता मान्नुपर्छ । यो कुरा यस पङ्क्तिकारले कार्यपत्रका साथै ‘सिद्धिचरण श्रेष्ठको कवित्व’ (वाङ्मय, १५/१५, २०७१) शीर्षक लेखमा प्रामाणिक रूपमा लेखिसकेपछि पनि त्रुटि गरिरहनु ठीक होइन ।

यसैगरी प्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालको नेपाली साहित्यमा प्रवेश २०१३ सालमा ‘प्रतिभा’ शीर्षक कविताबाट भएको भनी धेरैले चर्चा गरेको पाइन्छ तर उनको नेपाली साहित्यमा प्रवेश भैरवप्रसाद शर्मा अज्र्याल नामबाट प्रकाशित ‘नयाँ जीवन’ (प्रतिभा, १/७, २००९ फागुन) शीर्षकको कविताबाट भएको हो । यसैगरी उनलाई ‘खोलापारिका पुरेत बाजे’ (हालखबर, २०१३) शीर्षकको निबन्धबाट नेपाली निबन्धका फाँटमा देखापरेका भनी धेरैले उल्लेख गरेका छन् तर उनको नेपाली निबन्धमा प्रवेश ‘पुरेत बा (खोलापारि) प्रचार मन्त्री–प्रचण्ड पुरोहित परिषद्’ नामबाट हाँस्नुहुन्छ भन्ने स्तम्भमा प्रकाशित ‘सरकारले दुलो खोज्नुपर्ला’ (हालखबर, २०१४ वैशाख २५) शीर्षकको निबन्धबाट भएको हो । यो कुरा यस पङ्क्तिकारले भैरव स्मारिका २०६९ मा प्रामाणिक रूपमा लेखिसकेपछि पनि त्रुटि गरिरहनु लाजमर्दो कुरा हो । नेपाली साहित्यको इतिहासमा यति प्रतिष्ठित साहित्यकारका बारेमा समेत यसप्रकारका गम्भीर त्रुटिहरू अद्यावधिक कायम रहनु समालोचक भनाउँदाहरूको चरम गैरजिम्मेवारीपन हो ।
यसप्रकारका त्रुटि हुने प्रमुख कारण यत्तिको ठूलो समालोचकले लेखेको ठीकै होला भन्ठानी मूल स्रोतसम्म नपुगी त्यसैलाई स्वीकार गर्नु र आफ्नो गल्ती थाहा पाएर पनि स्वीकार गर्न नसक्नु नै हो । पहिले गरेका भूल सुधार गर्दा कोही पनि सानो हुँदैन र प्रतिष्ठा पनि घट्दैन बरु बढ्छ । नेपाली कवितामा आधुनिकताको प्रारम्भबारेमा मतभेद देखिनु पनि आफ्नो गल्ती थाहा पाएर पनि स्वीकार गर्न नसक्नु नै हो । थाहा पाइसकेपछि पनि गल्ती नसच्याउनु अर्को गल्ती गर्नु हो । यसतर्फ सम्बद्ध सबै सचेत हुन र यसलाई प्रतिष्ठाको विषय नबनाउन जरुरी छ ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend