बिहिबार, असोज २९ २०८३

२९ असोज २०८३ , बिहिबार | October 16, 2026 Friday

भर्जिनियामा डिटी फेस्ट २०२६ सम्पन्न, झन्डै १० हजार सहभागी

भर्जिनियामा डिटी फेस्ट २०२६ सम्पन्न, झन्डै १० हजार सहभागी

22
Shares
22
Shares

भर्जिनिया, अमेरिका । अमेरिकाको भर्जिनियास्थित एसबर्नमा आयोजित ‘डिटी फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। दसैँ तथा तिहारको अवसरमा आयोजित उत्सवमा झन्डै १० हजार नेपाली तथा स्थानीय सर्वसाधारण सहभागी भएको आयोजकले जनाएको छ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको कार्यक्रममा नेपाली कला, संस्कृति र परम्परा झल्किने विभिन्न गतिविधि तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश थिए। नेपाली दूतावाससहित विभिन्न व्यापारिक तथा सांस्कृतिक स्टलहरू राखिएको उत्सवमा नेवा रथ प्रदर्शन र परम्परागत ‘पुलु किसि’ अर्थात् हात्ती नृत्य आकर्षणका केन्द्र बनेका थिए। सहभागीहरूले चङ्गा उडाउने र क्यारमबोर्ड खेल्ने लगायतका गतिविधिमा पनि मनोरञ्जन लिएका थिए।

अपराह्न १ बजेदेखि सुरु भएको औपचारिक कार्यक्रममा बालबालिकाले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। साङ्गीतिक कार्यक्रमअघि आयोजित मःम खाने प्रतियोगिता र बालबालिकाका लागि प्रस्तुत गरिएको ‘गोरिल्ला डान्स’ ले पनि दर्शकको ध्यान खिचेको थियो।

साँझको कन्सर्टमा मोक्ष मन्त्र ब्यान्ड, गायिका समीक्षा अधिकारी, गायक शिव परियार तथा रक ब्यान्ड मुक्ति एन्ड रिभाइभलले प्रस्तुति दिएका थिए। कलाकारहरूले आफ्ना गीत तथा साङ्गीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

अनुकूल मौसमका कारण सहभागीहरूले दिनभर उत्सवको आनन्द लिएका थिए। डिटी फेस्टले अमेरिकामा नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्नुका साथै नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने अवसर प्रदान गरेको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend