बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘स्वर्ग मेरो’ लिएर आए ओकिली

‘स्वर्ग मेरो’ लिएर आए ओकिली

70
Shares
70
Shares

काठमाडौँ । ९० को दशकमा ‘मेरी ओकिली…’, ‘झ्यालबाट हेर…’ जस्ता गीतमार्फत नेपाली साङ्गीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनीश ‘ओकिली’ सापकोटा गीत–संगीत प्रेमीका लागि नौलो नाम होइनन् । नेपाली–अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् । पेसागत रूपमा उनी ‘ओकिली’ नामले चिनिन्छन् ।

यी गीतले नेपाली दर्शकमाझ र विश्वभरि छरिएका नेपाली डायस्पोरामा व्यापक लोकप्रियता पाएका गायक ओकिलीले आफ्नो जन्मदिनमा नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका उनले यो गीतमा शब्द, संगीत र स्वर आफैँले प्रदान गरेका छन् ।

‘मैले अमेरिकामा पनि नेपाली दाजुभाइ/दिदीबहिनीका लागि गीत गाइरहेँ, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु । यस पटक गीत तयार गर्नुका साथै भिडियोमा आफैँ प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने ।

उनले लगभग तीन महिनामा यो गीतलाई तयार गरेका हुन् । पप÷सफ्टरक विधामा पर्ने गीतमा उनले मायाको वर्णन गरेका छन् । यस पटक म्युजिक भिडियोमा समेत उनी आफैँ प्रस्तुत भएका छन् । गीतमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन् । गीतको भिडियो गायक तथा संगीतकार जेम्स प्रधानले तयार पारेका हुन्, जसमा छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन उनकै रहेको छ । अमेरिकाको रमणीय दृश्यमा खिचिएको यो गीतले दर्शकको ध्यान तान्नेमा ओकिली विश्वस्त छन् ।

‘एउटा प्रेम भावको गीत तयार गर्ने इच्छा यस पटक पुरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसारमा वर्णन गरेको छ । मेरा अघिल्ला गीतमा अरू नै मोडल छन् तर यस पटक गीतको भाव अनुसार निर्देशक जेम्स दाइले खेल्ने प्रस्ताव राख्नुभएपछि म आफैँ अगाडि आएको हुँ । आफ्नो गीतको भावलाई उतार्न सकेको छु भन्ने विश्वास छ’, ओकिली भने ।

पछिल्लो समय ‘रिदम काठमाडौँ’ नामक गीतिसंग्रह ल्याएका ओकिलीले यस पटक सिङ्गल ट्र्याक ल्याएका छन् । प्रचारप्रसारसँगै तयार गर्न पनि सजिलो हुने भएकाले उनले यस पटक एउटा गीत मात्र लिएर आएको बताए । उक्त गीतलाई जेनरिक्सले एरेन्ज गरेका हुन् । उक्त गीतलाई अनिश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

‘मेरा गीतहरू एकै ठाउँमा भेटिओस् भनेर पनि आफ्नै युट्युब च्यानलमार्फत गीत ल्याएको हुँ । मलाई नयाँ रूपमा चिन्नेले पनि मेरो साङ्गीतिक यात्राको बारेमा उक्त गीतमार्फत केही जानकारी पाउनु हुनेछ’, गायक ओकिलीले भने ।

नेपाली–अमेरिकी संगीतकार ओकिलीले १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए । ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन् ।

हाल अमेरिकास्थित क्यालिफोर्नियाको स्याक्रामेन्टोमा बस्दै आएका उनी आधुनिक नेपाली पप र भावनात्मक कथावस्तुको मिश्रणमा परिचित छन् । संगीत र संस्कृतिको योगदानका लागि उनले नोबेल पुरस्कार विजेता डा. चार्ल्स टाउन्सद्वारा प्रदान गरिएको ‘युथ अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् । दुई दशक लामो साङ्गीतिक यात्रामा उनी निरन्तर नयाँ रचना र उत्पादनमा सक्रिय छन्, जसले उनको छुट्टै पहिचान स्थापित गरेको छ ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend