बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

मान बहादुर शाहीको नेतृत्वमा पर्यटन संस्था सोट्टो नेपालको नयाँ कार्यसमिति सर्वसम्मत

मान बहादुर शाहीको नेतृत्वमा पर्यटन संस्था सोट्टो नेपालको नयाँ कार्यसमिति सर्वसम्मत

70
Shares
70
Shares

काठमाडौँ । मान बहादुर शाहीको अध्यक्षतामा सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ । शनिवार अबेर सम्पन्न संस्थाको १७ औँ वार्षिक साधारण सभा एवं निर्वाचनले शाहीको नेतृत्वमा दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

प्रमुख निर्वाचन अधिकृत सरस्वती श्रेष्ठका अनुसार संस्थाको प्रथम उपाध्यक्षमा डा. दिनेश बस्नेत, द्धित्तीय उपाध्यक्षमा माधव कुमार कँडेल, महासचिवमा कुमार पराजुली, सचिवमा कमल बहादुर मगर, कोषाध्यक्षमा मधुसुदन नेपाल र सह कोषाध्यक्षमा आनन्द कुमार क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा बिन्दु प्रधान, अनिशा ज्ञवाली, डासुराम गौतम, ओम प्रकाश जोशी, सुबोध धिताल, प्रेम कुमार दनुवार र सुजित कुमार यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले पर्यटनसँगै सिङ्गो देशको अवस्था नै अफ्ठेरोमा गरेकोप्रति चिन्ता व्यक्त गरे । तीन वर्षअघि देखि आर्थिक संकटतर्फ देश धकेलिरहेको उनको जिकिर छ । अबको समयमा राष्ट्रलाई संकटबाट बचाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनले बताए । हवाई टिकटमा लागेको भ्याट हटाउनेबारे पहल भइरहेको भन्दै उनले भने, ‘कर्मचारीको जालोले गर्दा भ्याट बजेटबाट हटाउन सकिएन । बिस्तारै यसलाई हटाउन सोचिरहिएको छ ।’ उनले नेपाल पर्यटन बोर्डमा बढी राजनीतिकरण भएको भन्दै यसको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याए । त्यस्तै नेपाल एयरलाइन्स अहिलेकै हिसाबले अगाडि बढ्न नसक्ने भन्दै यसको पनि पुनर्संरचना गर्नुपर्ने धारणा राखे । नेपाल एयरलाइन्सलाई विकास नगरी गन्तव्य सस्तो नहुने उनले ठोकुवा गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा (कमल)ले पर्यटनको सम्भावना छ भनिए पनि संख्या बढाउन र पर्यटकको बसाइँ लम्ब्याउन नसकिएकोमा दुःख व्यक्त गरेका छन् । कोभिडपछि पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै व्यवसायीलाई सहुलियतपूर्ण ऋणको व्यवस्था हुनुपर्ने उनको माग छ । नयाँ नयाँ नतिजा दिने स्थान एवं पर्यटन पूर्वाधार विकासमा बजेट खर्च गर्नुपर्नेमा उनले जोड दिएका छन् । पर्यटन बोर्डले यसपालि साउन १५ भित्रै बजेट ल्याउने दाबी गर्दै उनले समयमै काम नगरिदिने बोर्डका सीईओदेखि कर्मचारीप्रति खबरदारी गर्न आग्रह गरे । यसअघि जस्तो २६ पटकसम्म बोर्डमा धाउनुपर्ने अवस्था अब अन्त्य गर्न सबै लाग्नुपर्ने बताए । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनमा थुप्रै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै सोट्टोसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्रमा उल्लेख्य लगानी भए पनि संख्याको हिसाबले १०÷११ लाख गनेर बस्न बाध्य हुनु परेकोप्रति चिन्ता व्यक्त गरे । सरकारले हवाई सेवामा लगानी गर्नुपर्ने भन्दै उनले हवाई टिकटमा लाग्दै आएको भ्याट हटाउनु सरकारसँग माग गरे । नेपालको हवाई नीति सुधार्न सरकारलाई दबाब दिनुपर्ने आवश्यकता औँल्याउँदै पर्यटनका सबै संघसंस्थाको एकताबद्ध प्रयासमार्फत पर्यटनलाई माथि उठाउनुपर्ने आवश्यकता औँल्याए ।

सोट्टो नेपालका निवर्तमान अध्यक्ष भुवन पाण्डेले पर्यटनलाई उद्योग सरहको मान्यता दिन आग्रह गरे । आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा सोट्टो नेपालले उल्लेख्य काम गरिरहेको भन्दै नेपाल वायुसेवा निगमको जहाज बढाउनुपर्ने आवश्यकता औँल्याए । निजी र सरकारी क्षेत्रले सञ्चालन गर्ने मोडलमा यसलाई लैजानुपर्ने उनको सुझाव छ । समयसापेक्ष नयाँ पर्यटन ऐन लागु गर्नुपर्ने, हवाइ टिकटमा भ्याट हटाउनुपर्ने, दोहोरो करका दर हटाउनुपर्ने, नेपालका सवारी साधन भारतमा पनि निर्बाध चल्न पाउने वातावरण बनाउन सरकारले कुटनीतिक पहल गर्नुपर्ने माग गरे ।

सोट्टो नेपालका नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • प्रतिक्रिया दिनुहोस

    अर्जुन प्रधान का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend