बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी ७३ वर्षीया भारतीय महिला देशनिकाला

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी ७३ वर्षीया भारतीय महिला देशनिकाला

88
Shares
88
Shares

अमेरिका । संयुक्त राज्य अमेरिकामा तीन दशकभन्दा बढी समयदेखि बसोबास गर्दै आएकी एक ७३ वर्षीया भारतीय हजुरआमालाई अमेरिकी अध्यागमन निकायले पक्राउ गरी भारत फिर्ता गरेको छ ।

सन् १९९१ मा पञ्जाबको राजनीतिक उथलपुथलबाट बच्न आफ्ना दुई छोरासँगै क्यालिफोर्निया पुगेकी हरजित कौरलाई अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) का अधिकारीहरूले सेप्टेम्बर ८ मा पक्राउ गरेका थिए। अमेरिकामा शरणका लागि उनले गरेका पटक-पटकका प्रयासहरू असफल भएका थिए ।

उनका वकिल दीपक अहलुवालियाका अनुसार, कुनै पनि आपराधिक रेकर्ड नभएकी कौरलाई अमानवीय व्यवहार गरिएको थियो । उनलाई ६०-७० घण्टासम्म ओछ्यानबिना हिरासतमा राखिएको, औषधिका लागि पानीको सट्टा बरफ दिइएको र खान नसक्ने खाना दिएर उल्टै दोष लगाइएको वकिलको आरोप छ । उनलाई परिवारसँग राम्ररी बिदा लिनसमेत नदिई सेप्टेम्बर २२ मा भारत फिर्ता पठाइएको थियो ।

दिल्ली अवतरण गरेपछि कौरले टाइम्स अफ इन्डियासँग भनिन्, “यति लामो समय बसेपछि अचानक यसरी हिरासतमा लिएर फर्काइनुभन्दा मर्नु नै बेस हुन्थ्यो ।”

यता, आईसीईले भने कौरले कानुनी प्रक्रिया पूरा गर्ने दशकौं लामो अवसर गुमाएको र सन् २००५ मै एक न्यायाधीशले उनलाई देशनिकाला गर्ने आदेश दिएको बताएको छ । पटक-पटकका अपिल हारेपछि सबै कानुनी बाटा बन्द भएकाले न्यायाधीशको आदेश कार्यान्वयन गरिएको आईसीईको भनाइ छ ।

कौरको गिरफ्तारी र देशनिकालाले क्यालिफोर्नियाको सिख समुदायलाई स्तब्ध र आक्रोशित बनाएको छ, र उनीहरूले विरोध प्रदर्शनसमेत गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend