सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

विद्वत् शिरोमणि

विद्वत् शिरोमणि

282
Shares
282
Shares

लघुकथा

संसारकै मूर्द्धन्य विद्वानहरू बस्ने एउटा भव्य महल थियो । यति विद्वान थिए कि उनीहरूलाइ कुनै पुस्तकको गुण/दोषको बारेमा निर्णय गर्नुपर्‍यो भने पुस्तक पढ्न आवश्यक हुँदैनथ्यो । एक पटक सुँघे पुग्थ्यो । एक दिन महलका एक जना वरिष्ठ विद्वानले सनसनीपूर्ण घोषणा गरे,
“यो ग्रन्थ हानिकारक छ! विरोधाभासले भरिएको छ!”

त्यही बेला एउटा सानो प्रकाशको झिल्कोले प्रश्न गर्‍यो ।
“मेरो आँखाले त विरोधाभास ठम्याएन, तपाइले नेत्र गिद्धको भन्दा पनि तेजिलो हुनुपर्छ!” उसले शान्त स्वरमा सोध्यो ।
महलभित्रको वातावरण गम्भीर बन्यो ।
वरिष्ठ विद्वानले सिकारी आँखा पार्दै भने, “के तिमी मलाई प्रश्न गर्दै छौ?”

“यदि कुनै व्यक्ति शब्दको मुखाकृतिसँग परिचित छैन भने उसले कसरी यसको गहिराइ मापन गर्न सक्छ?” झिल्को बोकेको व्यक्तिले फेरि सोध्यो ।
वरिष्ठ विद्वान रिसाए ।
“हामीलाई पढ्न जरुरी छैन! हामीहरू नपढीकनै निष्कर्षमा पुग्ने क्षमता राख्दछौँ ।”
त्यो सुनेर जुनकिरीको प्रकाशले भन्यो, “त्यसो भए यहाँ प्रकाश होइन केवल अन्धकार मात्र बाँचेको हुनुपर्छ ।”
त्यसपछि महलका भित्ताहरू बिस्तारै चर्किन थाले । अन्धकार पातलिँदै गयो । उषाका किरणहरू धर्तीमा स्पर्श गर्न थाले । अनि परम विद्वानहरू एक अर्कालाई हेर्न थाले तर देख्न सकेनन् । छुट्टाउन सकेनन् । उनीहरूको आँखा त केवल अन्धकारका लागि अभ्यस्त भएका थिए । जब सानो प्रकाश बाहिर निस्कियो, केही प्रश्नहरू पनि बाहिरिए । महलभित्र बस्नेहरू अझै पनि आफ्नै छायासँग बहस गरिरहेका थिए ।

  • प्रतिक्रिया दिनुहोस

    युवराज मैनाली का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend