दमक, झापा । बेलडाँगी भुटानिज शिविर नाट्य परिवारको हलमा यही १६ अगस्टको साँझ बेलडाँगी नाट्य परिवारको आयोजनामा कविद्वय दिल भुटानी र उत्तम तुम्सा लिम्बुद्वारा कविता कन्सर्ट सम्पन्न भयो । कार्यक्रम साँझ ५ बजेबाट शुरु भएता पनि कार्यक्रमको रौनकताको कारण उक्त कार्यक्रममा ढिलाइको कुनै महसुस भएन । कार्यक्रमको उद्घाटन लक्ष्मी बिश्वाको सुन्दर गीत प्रस्तुतिबाट गरिएको थियो भने दीपशिखा राईले पनि सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् ।
नाटक प्रदर्शन गर्ने हल साधारण भए पनि कविता कन्सर्टको कविहरूको प्रस्तुतिले उक्त हललाई जाजल्यावान बनाए झैँ लाग्दथ्यो । प्रथम प्रस्तुतिमा कवि दिल भुटानीले आफ्ना कविताहरूमा आफूहरूले देश (भुटान )छाड्नु परेको पीडा र शरणार्थी बनेर आफूहरू देशहीन भएर बाँच्नु परेको असह्य दुखका भावहरू आफ्ना कविताहरूमा पस्केका थिए ।
धन्कुटे युवा कवि उत्तम तुम्सा लिम्बुले रैथाने भाका र मिठो आवाजमा आफ्ना विभिन्न भावका कविताहरू पहाडा,गाउँघरतिरका ठुलीहरूका प्रारब्धहरू र देशकै भाव कवितामा सँगालेर रैथाने भाकामा वाचन सहित गाएका थिए । उन्को कविता प्रस्तुतिले हलमा मौनता छाएको थियो किनकि उनको कविता वाचन प्रस्तुति आजसम्मकै नौलो प्रस्तुति हो भन्ने महसुस हुन्थ्यो । उनको रैथाने भाकाको आवाज यति मिठो थियो कि कविता वाचन सुन्दा श्रोता/दर्शकलाई कुनै एक मीठा स्वरका धनीले गीत प्रस्तुत गरी रहेका छन् कि? भन्ने आभास पनि हुन्थ्यो । उत्तमका कविताहरूले हलमा सबैलाई शान्त र स्निग्ध बनाएको थियो ।
उक्त कविता कन्सर्टमा लक्ष्मी विश्व र आशिका कालिकोटेबाट सुन्दर गीतहरू पनि प्रस्तुत भएको थियो । कार्यक्रम छोटो मिठो सुन्दर प्रस्तुति भएकोले हामी आधाउधी दर्शक/श्रोताहरूले भुईमा पलेंटी मारेर कविता वाचनको आनन्द मज्जाले लियौँ । आफ्नो भूमी छाडेर शरणार्थी जीवन बिताई रहेता पनि यहीँ रहेका भुट्निज युवाहरूले आफूहरुलाई कुनै न कुनै सामाजिक कार्य वा संघ संस्था खोलेर आ-आफ्ना प्रतिभाहरू प्रस्फुटन गरेर आफ्ना दुखेका घाउहरूमा मलहम लगाई रहेका छन् । कतिपय युवाहरू नाटक,गीत,संगीत र साहित्यमा समर्पित छन् ।

कार्यक्रमको अन्त्यमा कवि उत्तम लिम्बु र दिल भुटानीलाई कार्यक्रम आयोजकले मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रम संचालन लक्षुम बुर्जा मगरले गरेका थिए भने उपस्थित हुनेहरुमा प्रदेश प्राज्ञ सुमित्रा चेली,आचार्य प्रभा,केशव आचार्य,चोमु शेर्पा,रचना लावती,गायक जितेन साङ्गपाङ्ग,तिलक राई लगायत अन्य धेरैको उपस्थियो थियो भने भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सन्चाहाङ्ग सुब्बा,नर बहादुर गुरुङ र रिञ्जेन डेमा लगायत शिविरका व्यक्तिहरूको बाक्लै उपस्थिति रहेको थियो ।

३५ औँ वर्ष अगाडि देखी झापा,मोरङका विभिन्न स्थानहरूमा छाप्रो बनाएर शरणार्थीको उपनाम ग्रहण गरेर बसे पनि आजसम्म केही भुट्निज नेपालीहरू न देश,न नागरिकको दर्जाबाट हक विहीन भएर बाँच्न बाध्य भएका छन् । धेरै नै विदेशतिर पुर्याएका छन् भने यहाँ रहनेहरूको पीडा,दर्द अझै पनि उस्तै छ । उनीहरूको दर्दमा केही राहतको मलहम लाउन पनि हामी पहिला देखी नै उनीहरूको कार्यक्रममा सरिक हुन जाने गर्थ्यौँ र समय रहेसम्म जानेछौँ ।उक्त कार्यक्रम सफल पुर्वक सम्पन्न भयो । सो कार्यक्रमको प्रायोजन CYCC, कदम थिएटर,चुलाचुली रङ्गमंचले गरेको थियो ।


© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend