सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

ह्यारिसबर्गमा ‘सङ्गालो’ कथा वाचन कार्यक्रम सम्पन्न

ह्यारिसबर्गमा ‘सङ्गालो’ कथा वाचन कार्यक्रम सम्पन्न

24
Shares
24
Shares

ह्यारिसबर्ग, पेन्सिलभेनिया —कृयामाण फाउन्डेसन*को आयोजनामा भुटानी–नेपाली समुदायका बालबालिका तथा युवालाई नेपाली भाषा, साहित्य, संस्कृति र समुदायको इतिहाससँग जोड्ने उद्देश्यले ‘सङ्गालो’ कथा वाचन कार्यक्रम शनिबार ह्यारिसबर्गमा सम्पन्न भएको छ।

ह्यारिसबर्गस्थित ६३०० चेम्बर्स हिल रोडमा आयोजित कार्यक्रममा दुई उमेर समूहका २४ जना बालबालिका तथा युवाले नेपाली भाषामा कथा वाचन गरेका थिए। प्रस्तुत कथामा भुटानबाट भएको विस्थापन, नेपालका शरणार्थी शिविरमा बितेको जीवन, जेलका कठिन अनुभव, तेस्रो देश पुनर्वास, भाषा, संस्कृति र पहिचान जोगाउने संघर्षका विषय समेटिएका थिए।

आयुष धिताल, आयुषा चापागाईं, दिप्सिका घिमिरे, अस्लेशा तिम्सिना र दिव्या घिमिरेलगायत सहभागीले भावपूर्ण रूपमा कथा प्रस्तुत गरेका थिए। दिव्या घिमिरेले सुनाएको कथामा भुटान छोड्ने क्रममा एक वृद्धले आफ्नो झोलामा जन्मभूमिको माटो र भुटानी नागरिकताको कागज बोकेर हिँडेको मार्मिक प्रसंग समेटिएको थियो।

प्रतियोगितामा प्रत्येक समूहका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ४००, ३०० र २०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको थियो। यसरी दुवै समूहका छ जना विजेतालाई कुल १ हजार ८ सय अमेरिकी डलर पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

पं. हेम धिताल, धर्मेन्द्र तिम्सिना, गंगा लामिटारे, निशा लीला, द्रौपदी प्रधान, मुस्कान बालम्पाकी, तिला आचार्य र टीकाराम राईले प्रतियोगिताको मूल्यांकन गरेका थिए। उनीहरूले भाषा, उच्चारण, कथाको भाव बुझ्ने क्षमता, अभिव्यक्ति र समग्र प्रस्तुतिका आधारमा सहभागीहरूको मूल्यांकन गरेका थिए।

कार्यक्रमको सञ्चालन पातलो अन्तरे र कमला चापागाईंले गरेका थिए। कार्यक्रममा भुटानी कम्युनिटी अफ ह्यारिसबर्गका संस्थापक तथा प्रथम अध्यक्ष टीका ढुंगाना, पूर्वअध्यक्ष तिलक निरौला, वर्तमान अध्यक्ष युवराज कोइरालालगायत समुदायका अगुवा, अभिभावक र सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

“हाम्रो कथा, हाम्रो शक्ति; हाम्रा सम्झना, हाम्रो भविष्य; हाम्रा संघर्ष, हाम्रो विरासत” भन्ने मूल भावसहित आयोजित कार्यक्रमले अमेरिकामा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषामार्फत आफ्ना परिवार र समुदायको इतिहास, विस्थापनको पीडा तथा सांस्कृतिक पहिचानसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस

    अर्जुन प्रधान का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend